असोज ६ गते ‘पनौती–नमोबुद्ध’ पदयात्रा हुदैं

बनेपा, आगामी असोज ६ गते काभ्रे सेवा समाजको आयोजनामा विश्व शान्ति दिवसको अवसरमा जिल्लाको पनौती नगरपालिकादेखि नमोबुद्धसम्म शान्ती पदयात्रा हुने भएको छ ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैलाउने, पनौती र नमोबुद्धमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवर्द्धन गर्ने, हिन्दु धर्मावलम्बी र बौद्ध धर्मालम्वीहरुबीच आपसी सद्भाव विकास गर्ने, स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शान्ति पदयात्रा आयोजना गरिएको काभ्रे सेवा समाजका अध्यक्ष प्रह्लाद केसीले जानकारी गराए । जिल्ला समन्वय समिति काभ्रे र स्थानीय तहहरुको अगुवाईमा विभिन्न सामाजिक संघ संस्था, नागरिक समाज तथा सरोकारवाला क्षेत्रका ब्यक्तिहरुको सहभागितामा पदयात्रा हुने छ ।

जिल्लाको समग्र विकास र समृद्धिका लागि जिल्लामा भएका सम्भावनाहरुको संगालो सहितको प्रोफाईल तयार गर्ने तयारीमा छौं’–जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले भने–‘सुन्दर र प्राकृतिक छटाहरुले भरिएको काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरुको संरक्षण, प्रवर्द्धन गर्दै विश्वभर चिनाउन शान्ति पदयात्रा महत्त्वपूर्ण हुनेछ ।’
काभ्रेमा जन्मिएर काठमाडौँमा विभिन्न पेसा ब्यवसायमा संलग्नहरुलाई काभ्रेसँग जोड्ने, तीन तहकै सरकारलाई पनौती र नमोबुद्धको विकासका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने, पनौती र नमोबुद्ध दुवै क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न पहलसँगै दबाब सिर्जना गर्ने, धार्मिक सर्किटको रुपमा विकास गर्ने, पनौती नमोबुद्ध डेडीकेटेड पदमार्ग (ट्रेकिङ्ग रुट) निर्माणका लागि पहल गर्न शान्ति पदयात्रा महत्त्वपूर्ण हुने बताईएको छ । पदयात्रा पनौतीमा रहेको राजकुमार महासत्वको दरबार हुँदै पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी र नमोबुद्ध पुग्नेछ । ९.८ किमी लामो पदयात्राका लागि साढे ३ घण्टा लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *