हामी अठार वर्षे यात्रामा

1

प्रकाशकीय
          हामी अठार वर्षे यात्रामा

समय बितिरह्यो हिजो जस्तो लाग्थ्यो, नव क्षितिज साप्तहिकको शुरुवात गरेको आज थाहैै नपाई १७ वर्ष पार भएछ । १७ वर्षे प्रकाशनको यात्रामा तपाइको अमूल्य साथ र अथाह स्नेहले गर्दा नै हामी विघ्नबाधा अनि आरोह अवरोह छिचोल्दै आजदेखि १८ वर्षलाई आत्मसाथ गर्दैछौँ ।
यो अवधिमा हर बस्तीका, दुःख सुखका अनि आम पाठकका जीवन आयामहरुले समाचारको रुप ग्रहण गरिह्यो । तपाईं पाठक, विज्ञापनदाता, सहयोगी संघसंस्था, व्यक्ति एवं शुभचिन्तकको अतुलनीय सहयोग, सद्भाव, माया अनि सल्लाह, सुझावलाई मार्गदर्शनको रुपमा स्विकार्दै यो नौलो आयाममा तपाइकै समुदाय, घर आँगनमा रम्न चाह्यौं र अझै चाहन्छौ । १८ वर्षसँगै अब नव क्षितिज साप्ताहिक पनि युवा अवस्थामा प्रवेश गरेको छ । यो प्रवेशले हामीलाई थप उत्तरदायि, चुनौती र युग सुहाउँदो परिवर्तन आत्मसाथको लागि उत्प्रेरित गरिरहेको छ । यसर्थ, हामी खुसी छौ । यो सँगै हामीले निरन्तर अनलाइन संस्करण पनि प्रकाशन गरिरहेका छौं । सँगै नव क्षितिज साप्ताहिक प्रकाशक संस्था काभ्रे नव क्षितिज प्रकाशन प्रा.लि. ले छुट्टै राम्रो सन्देश डटकम डिजिटल पत्रिका (अनलाइन) पनि प्रकाशन गरिरहेको छ ।
यिनै सहृदयताले नव क्षितिज आज लाखौं पाठक माझ स्थापित छ । नेपाल सरकार अन्तर्गत प्रेस काउन्सिल नेपालले प्रत्येक वर्ष गर्ने पत्रपत्रिका वर्गीकरणमा पनि हामी उत्कृष्ट अर्थात् ‘क’ वर्गमा वर्गीकृत छौं । यसबाट हामी अझै सफल, सक्षम र सुदृढ भएका छौ । हाम्रो यो उचाइ तपाईकै कारणले सम्भव भएको हो । यसको सम्पूर्ण श्रेय तपाइमा जान्छ, अनि यो श्रेय तपाइमै समर्पण । काभ्रेली आँगनको यही परिवेशलाई कर्मथलो बनाएर सृजनाको फूलबारी मान्दै कला, वाङ्मय–साहित्यको उर्वर भूमिमा चेतनाको पुञ्ज फैलाउँदै काभ्रे र यस भेगका धार्मिक, साँस्कृतिक, र ऐतिहासिक स्थल, सम्भावना बोकेका पर्यटकीय क्षेत्र र ओझेलिएका सम्पदा र महत्वका विषयहरु, अल्पसंख्यक, विपन्न, लोपोन्मुख जातिजातिका उत्थान विकास र प्रबद्र्धनका खातिर कलम चलाउन सदैव तयार रह्यौं, रहनेछौं ।
सत्य, तथ्य, निष्पक्ष र वास्तविक समाचार प्रवाह एवं स्थानीयस्तरका कला, भाषा, भेष, नव प्रतिभालाई स्थान दिँदै हरेक सोमबार भालेको डाँकसँगै चियाको सुर्कीमा समाचार प्रदान गर्दै आएको नवक्षितिज साप्ताहिक नेपालीका लागि सूचना र सन्देशको अभिलेख मात्र नभई, देशभित्र र बाहिर घट्ने घटनालाई उतार्ने एउटा दरिलो र स्तरीय सञ्चार माध्यम पनि हो । क्षितिजबाट नियाल्दै समाजमा भए गरेका विकास निर्माणका साथै वास्तविक घटनाक्रमलाई यथार्थमा उतार्दै समाजलाई सुसन्देश दिने हाम्रो कार्यलाई निरन्तर जारी राख्दै यथार्थपरक समाचार सम्प्रेषण गर्न सदैव तयार छौं । हामी गरीबका छाप्रामा हात्ती हुलेर तमासा हेर्नेहरुका विरोधी हौं । भ्रष्टाचार र अनियमितताका बिरुद्ध खबरदारी गर्दै आवाजविहिनहरुको आवाज र पीडितहरुको सहारा बन्ने हाम्रो क्रम जारी रहनेछ । हामी कुनै पनि दलगत स्वार्थलाई अंगालेर पत्रकारीता गर्दैनौं, ताकि स्वच्छ पत्रकारीता नै हाम्रो धर्म र कर्तव्य पनि हो । जनसरोकार र जनआकांक्षा अनुरुपका पठनयोग्य र लाभदायिक सामाग्री प्रकाशन गर्ने र सम्बन्धित पक्षको आनाकानी र ढिलासुस्तीमा कलम मार्फत् खबरदारी गर्दै जनताको पक्षमा खुलेर लाग्न हामी सदैव तपाईहरुको साथ र पेरीफेरीमा नै रहनेछौं । ग्रामीण बस्तीका दूरदराजसम्म लुकेर रहेका प्राकृतिक छट्टा, ऐतिहासिक स्थल, धार्मिक एवं पर्यटकीय क्षेत्र र ओझेलिएका सम्पदा र क्षेत्रका विषयवस्तु र समुदायका वास्तविकतालाई पाठकसामु ल्याई विश्वसामु चिनाउन हामी खोज पत्रकारीता गर्छाैं, जसलाई खोतल्छौं र पस्कन्छौं । हामी पत्रकारीताको नाममा ब्ल्याकमेलिङ्ग र कालोधन्दा गर्ने छैनौं, गरेका पनि छैनौं जसको ज्वलन्त हामी कमजोर भएको तपाईले मनन गर्नुभएको छ, हामी मैनबत्ति भएर जल्न तयार छौं ताकि हामी आफ्नो प्रकाश निरन्तर अरुका लागि छर्नेछौं, चाहना मजबुद भएपछि बहाना कमजोर हुँदो रहेछ । हाम्रो उद्देश्य मजबुद छ तर मजबुतीमा छौं र पनि हामी खुसी छौं । जसका लागि तपाईको साथ, सद्भाव र मायाले हामीलाई ढाढस दिइरहेको छ ।
नयाँ वर्षमा प्रवेश गर्नु भनेको थप प्रतिबद्धता व्यक्त गर्नु हो । परिस्कृतताको नयाँ आयाम पस्कन सक्नु हो । यही, सत्य, तथ्यताको आँगनीलाई सजाउनु हो । यसमा हामीलाई हाम्रा आम पाठकवृन्दको सल्लाह सुझावले दिशानिर्देश गर्नेछ । त्यसैले सदैव तपाईको सकारात्मक र रचनात्मक अनि स्वस्थ आलोचना र सहयोग सुझावको हामी अपेक्षा गर्दछौँ ।
अन्तत्वगत्वा सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा हामी सदैव साथ रहनेछौं । यसलाई पूरा गराउन हामी सदैव दबाब र सहयोगको वातावरण सृजना गर्छौ र गरिरहेका छौँ । साथै, नव वर्ष २०७५ को पावन अवसरमा तपाई सम्पूर्णमा नवक्षितिज साप्ताहिकको १८ वर्षको पहिलो अंक पस्कँदै तपाईको सारमय जीवनको कामना गर्छाैं र हार्दिक शुभकामना व्यक्त गर्दछौं । यो पत्रिका तपाइहरुकै साझा सन्देश वाहक हो । यसको उन्नति तपाइ हाम्रै हो त्यसैले हामी सदैव तपाइसँग हातेमालो गर्न तयार रहँदै आशा गर्छौं सदा झैं न्यानो माया र साथ पाइरहने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *