समृद्धिका लागि संकल्प यात्रा–कुन्तावेशीमा भव्य सभा

बनेपा, नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गतको सभा आगामी मंसिर २४ गते काभ्रेको कुन्तावेशीमा भब्य रुपमा हुने भएको छ ।

नेकपा एमाले काभ्रेको विस्तारित बैठक बसी सभालाई भव्य बनाउन तयारीलाई तिब्रता दिएको छ । जिल्ला अध्यक्ष अशोक ब्याञ्जूको अध्यक्षतामा बसेको बैठकले मंसिर २४ गते मण्डनदेउपुरको कुन्ताबेशीमा दिउसो भब्य आमसभा गर्ने, साँझ धुलिखेलमा पत्रकार भेटघाट, मानव अधिकार दिवस र ब्यवसायीसंग छलफल कार्यक्रम गर्ने निर्णय गरेको सचिव राजन भुर्तेलले जानकारी दिनुभयो । भुर्तेलका अनुसार अभियानमा खटिने केन्द्रीय टोली सो दिन धुलिखेलमा बस्ने कार्यक्रम रहेको छ । उक्त टोली भोलिपल्ट रामेछाप प्रस्थान गर्ने कार्यक्रम छ ।
आमसभाको तयारीको लागि प्राय सबै पालिका कमिटी र जनसंघठनहरु सक्रिय बनेका छन । एमालेको विस्तारित भेलाले सांसदहरुका लागि ३ महिनाको तलब, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुलाई दुई महिना र वडाका जनप्रतिनिधिले एक महिनाको तलब अभियानका लागि उपलब्ध गराउने निर्णय गरेको छ । स्वागतद्वार, मञ्च तथा अन्य प्राविधिक तयारीका लागि जिम्मेवारी दिईए अनुसारको कार्य भैरहेको छ । जनसभाका मातहतका कमिटीहरुलाई विशेष जिम्मेवारी सहितको तयारी गर्न निर्देशन दिएको छ । योसंगै सबै पालिकाहरुको बैठक बसी जनसहभागिता बढाउन सक्रिय बनेका छन । त्यस्तै स्वंम सेबक परिचालनका लागि अखिल, युवाले तयारी गरेका छन । प्रचार प्रसारलाई तिब्र बनाउन प्रेस चौतारी काभ्रेले शुरु गरेको ईञ्चार्ज नवराज बजगाईले जानकारी दिनुभयो । त्यस्तै निमन्त्रणा कार्ड छापेर कार्यक्रम नजिकका पालिकाका घरघरमा पु¥याउन शुरु गरिएको छ । जिल्ला बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, पोलिटब्युरो सदस्य एवं काभ्रे इञ्चार्ज कृष्ण राई, पूर्व केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य, जिल्ला कमिटी, नगर तथा गाउँ कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
के हो संकल्प यात्रा ?
एमालेले आयोजना गरेको बैतडी जिल्लाको नेपाल भारत पश्चिमी सीमा झुलाघाटबाट पाँचथर जिल्लाको नेपाल भारत पूर्वी सीमा चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० पुस १४ गतेबाट प्रारम्भ भएको हो ।

राजनीतिको सत्ता र दल केन्द्रित बढ्दो विसङ्गतिबाट मुलुकलाई मुक्ति दिन, नेकपा एमालेले राजनीतिको एजेन्डालाई सत्ता प्राप्तिभन्दा मुलुकको समृद्धि र नागरिकको सुखका लागि हुनुपर्छ भन्ने आफ्नो स्थापित मान्यतालाई जनताका पक्षमा परिणाममुखी बनाउन सङ्कल्प यात्रा आयोजना गरिएको हो ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ झुलाघाटबाट सुरु भएको अभियानमा उत्साहका साथ देशभर नेपाली जनताको साथ र सहयोग नेकपा एमालेप्रतिको विश्वासले हर्ष लागेको बताउनुभएको छ । मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटर लामो यो पद यात्रा एमालेको मात्र नभएर आम नेपालीको उत्साह प्रतिविम्वित गर्ने एउटा अवसर बन्ने छ ।
नेकपा एमालेले मूल नेतृत्वसहित आफ्ना करिब १०० नेता गण रहेको समूह प्रदेश र स्थानीय नेतृत्व र तत् तत् क्षेत्रका आम नागरिक सम्मिलित हुने गरी आयोजना गरेको यस पद यात्रामा विशेषतः मध्य पहाडी क्षेत्रका नागरिकको अवस्था बारे अध्ययन, प्रत्यक्ष साक्षात्कार र वस्तुगत अवस्थाको अवलोकन र विकासको अनुगमन समेत गर्नेेछ । करिब तीन साताको यो समय मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का रूपमा रहेको छ ।
यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने र भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने रहेको छ ।
यात्राका क्रममा निर्धारित मार्गको आसपासका विभिन्न पेसा व्यवसायमा रहेका आम नागरिक, स्थानीय जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, किसान, मजदुर, संस्कृति संवाहक समुदायसँग नेतृत्वको खुला छलफल, बहस तथा साक्षात्कार र अध्ययन मनन गर्ने अवसरबाट मुलुकको झन्डै आधा जनसङ्ख्या लाभान्वित हुने छन् । यो यात्रा नेतृत्वले सामूहिक रूपमा नै जनताका गुनासाहरू सुन्ने र दल तथा आफूप्रतिका भ्रम निवारण गर्ने महत्वपूर्ण अवसर पनि बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *