बनेपा, काभ्रेपलाञ्चोक जिल्लाबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकूले–तालढुंगा हुँदै हेटौंडा जाने प्रादेशिक सडकको शनिकार शिलान्यास गरिएको हो ।
बाग्मती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रदेशका पूर्वमन्त्रीे प्रदेश सभा सदस्य रत्न ढकालले सडकको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय धुलिखेल मार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतीको लागि ठेक्का आव्हान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्ट लगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबा–ग्रीन तारा जेभीले ठेक्का लिएको हो । ।
बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक बर्षमा नै ९४ करोड ६९ लाख श्रोत सुनिस्चित गरेको छ । चालु आर्थिक बर्षको लागी ७ करोड बिनियोजन भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले २० लाख भन्दा कम बजेटका योजनामा प्रदेशले बिनियोजन नगरेको भन्दै साना योजनाका माग धेरै भएकाले समस्या भएको बताउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ६ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सुचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्रे गर्दै लैजाने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो । खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले १०–१२ बर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताउनुभयो । प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले रणनीतिक महत्वको सडक भएको भन्दै क्षेत्र नम्बर १ का अन्य सडक पनि क्रमशः स्तरोन्नति गरिने बताउनुभयो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले संघीयताका कारण तल्लो तह सम्म बजेट गएकाले यसलाई सस्थागत गरिनुपर्ने बताउनुभयो । तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उक्त सडकले तेमाल गाउँपालिका समेत लाभान्वित हुने तर्क गर्दै जिल्लाकै गौरवको बिषय भएको बताउनु भयो । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सडक निर्माणले गाउँपालिकाको एउटा महत्वपूर्ण सपना पूरा भएको भन्दै प्रदेश सरकारको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो ।