समृद्ध काभ्रेपलाञ्चोकको सूचक ः राष्ट्रिय गौरवका आयोजना

राजकुमार पराजुली
बनेपा, केन्द्रीय राजधानी नजिकको जिल्ला काभ्रेपलाञ्चोक । ‘बत्तिमुनिको अध्यारो’को उपमासमेत पाउँदै आएको यस जिल्ला विकासोन्मुख अवस्थामा छ । यो जिल्लामा तत्कालीन शसस्त्र द्वन्दयता विकासको गति ‘सुस्तता’मा सीमित हुँदै आएको थियो ।
नेपालमा शान्ति प्रक्रियापछि गणतन्त्र प्राप्तिसँगै राजनीतिक एवं सरकारकाबीच निकै उतारचढाव आए, परिवर्तन हुँदै गए । यसअघिका अस्थिर सरकारले सम्भवतः विकासको ‘मिसन’ समृद्ध नेपालतर्फ उन्मुख हुने प्रक्रियामा सामेल भएपनि अगैगतिमा लम्कन सकेनन् र यसको प्रतिकूल प्रभाव स्थानीयस्तरसम्म पुग्यो । परिवर्तित राजनीतिक खिचातानीकाबीच नौलो समीकरणपछि स्थिर, स्थायी सरकारको आगमन भयो ।
पछिल्लो बर्षदेखि समृद्ध काभ्रेपलाञ्चोकको परिकल्पनासँगै यसका सूचकका रुपमा राष्ट्रिय गौरवका आयोजनाले प्राथमिकता पाउँदै गए र ‘समृद्ध काभ्रेपलाञ्चोक’को सपना साकार बन्दैछन् । स्थायी सरकारको ‘स्थायी’ योजनाले काभ्रेपलाञ्चोक अब बत्तिमुनिको अध्यारोबाट ‘उज्यालो’तर्फ तानिदै छ । राष्ट्रिय गौरवका दीर्घकालीन योजनाको सुरुवातीसँगै आगामी बर्षका योजनाले झन् काभ्रेलीलाई उत्साहित बनाउँदै लगिरहेको छ । यसको श्रेय जनताका प्रतिनिधिलाई दिँदै हरेक क्षेत्रबाट उनीहरूको चर्चा–परिचर्चा भइरहेको छ । चालू÷क्रमागत योजनाले जिल्लाको मुहार फेरिनेमा विश्वस्त काभ्रेलीलाई थप राष्ट्रिय गौरवका आयोजनाले समृद्ध काभ्रेपलाञ्चोकका लागि थप उर्जा प्रदान गरिरहेको छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय काभ्रेपलाञ्चोकमा शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा परिचित हुने अब्बल संरचना छन् । जनताका आधारभूत आवश्कयतालाई मध्यनजर गर्दै थप परिस्कृत बनाउने र प्रविधिसँगै आधुनिकतामा ढाल्ने किसिमका योजना काभ्रेपलाञ्चोकमा आइरहेका छन् । निर्माणाधीन विभिन्न राष्ट्रिय राजमार्ग, स्थानीयस्तमा सडक निर्माण, शैक्षक संस्था, पुल तथा पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) निर्माणाधीन तेमाल खानेपानी आयोजना, पाँचखालमा बृहत एकीकृत खानेपानी, युवा एभिएसन सेन्टर र मदन भण्डारी विश्वविद्यालय, बनेपास्थित साँगामा प्रतिरक्षा विश्वविद्यालय, सिंचाई र तीन नगरलक्षित करिडोर, सौर्य उर्जा तथा ग्रामीण विद्युतीकरण, सुरक्षण मुद्रण केन्द्रलगायत दीर्घकालन महत्वका दर्जनौ आयोजनाले काभ्रेपलाञ्चोकको मुहार फेरिनेमा सबै विश्वस्त देखिएका छन् । यसअघि, चिन जोड्ने अरनिको राजमार्ग र मध्यपहाडी विपी राजमार्गले जिल्लाका बासिन्दाको जीवनशैलीमा एक फड्को मारिसकेको छ ।
साथै, दूर्गम क्षेत्रबाट राष्ट्रिय राजमार्गसँग जोड्ने रोशी, कोशी र डाँडापारी क्षेत्रमा पुल÷सडक निर्माणका नयाँ योजनाले जिल्लाको ‘कायापलट’ गराउनेनै छ । सङ्घीय सरकारले आर्थिक बर्ष २०७७÷०७८ का लागि हालै प्रस्तुत बजेटमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ । काभ्रे भ्याली स्मार्ट सिटी, भक्तुपुरदेखि धुलिखेलसम्म छ लेनको राजमार्ग निर्माण, ललितपुर ग्वार्को–काभ्रेपलाञ्चोक, कटुञ्जे राष्ट्रिय राजमार्ग, महाभारत पहाडी रेञ्जमा ट्रेल, बुद्ध सर्किट, कोशीपारी जोड्ने चेहेरे पुल, स्थानीय तहका बृहत खानेपानीजस्ता महत्वपूर्ण आयोजनामा बजेट बिनियोजन भएका छन् । आउँदो आर्थिक बर्षको बजेटमा १११ मेघावाटको कोखाजोर जलाशययुक्त विद्युत आयोजना, मादनकुँडारी ३३ केभिए विद्युत, पाँचखाल उपत्यका जलस्रोत आयोजना, सामुदायिक तथा ग्रामीण विद्युतीकरण तथा निर्माणाधीन विद्युतीकरण आयोजना प्राथमिकतामा परेका छन् ।
निर्वाचनका समय जनतासँग गरेका वाचाअनुरुप विश्वासको मतको कदरस्वरुप केन्द्रीय सरकारमार्फत आयोजना ल्याइएको पूर्वमन्त्री, प्रतिनिधिसभा सदस्य एवं नेकपा काभ्रेपलाञ्चोकका इन्चार्ज गोकुलप्रसाद बाँस्कोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “जनताको विश्वासलाई कहिल्यै धोका दिएको छैन, दिने पनि छैन ।” उहाँले गतबर्षका चालू योजनाले समृद्ध काभ्रेपलाञ्चोकको अभियान सुरुभएको उल्लेख गर्दै यस बर्ष थप राष्ट्रिय गौरवका योजना समावेश हुनुले समृद्धतामा सामेल भइने दावी गर्नुहुन्छ । “जिल्लामा प्रदेश सरकारको योजना पनि छन, अब काभ्रेली जनता विश्वासपूर्णरुपमा ढुक्क हुनुपर्छ” बाँस्कोटाको सुझाव छ ।
हाल केन्द्रयि सरकारबाट काभ्रेपलाञ्चोकका लागि १०४ योजनामा बजेट विनियोजन भएको हो । बाँस्कोटाले आफु सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदाका बखत सामुदायिक विद्यालयलाई डिजिटलाईजेशन बनाउने अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९६ विद्यालयमा कम्प्यूटर ल्याव स्थापना गर्नुभएको छ । उहाँ भन्नुहुन्छ “प्रत्येक विद्यालयमा २४ कम्प्यूटरसहित ब्याकअप व्यवस्थित गरिएको छ, यस अभियानअन्तर्गत देशभरका सामुदायिक विद्यालयमा सूचना–प्रविधिलाई सहज बनाउँने उद्देश्य लिएका थियौँ ।” अर्का प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ केन्द्रीय सरकारले सिंचाई, ग्रामीण विद्युतीकरण र कोशीपारी जोड्ने पुललाई प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।
पाँचखालमा निर्माण गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि मन्त्रालयका लागि रु एक बर्ष २० करोड विनियोजन भएको छ । पाँचखालको सात, दश र १२ नंवर तथा नमोबुद्ध नगरपालिकाको दुई र तीन वडास्थित नीजि तथा सरकारी ११ हजार ६१ रोपनी जमिन व्यवस्थापन गरिएको छ । हाल विश्वविद्यालय पूर्वाधार विकासका नाममा जमिन हस्तान्तरण प्रक्रिया सकिएको छ । जिल्लाको महत्वपूर्णमध्ये एक मानिएको यो योजनाका लागि व्यक्तिका नाममाा रहेको सात सय १४ रोपनी जमिन पनि अधिग्रहण प्रक्रिया सकिएको छ । उक्तm विश्वविद्यालयको निर्णयपछि महत्वकासाथ निर्माण क्षेत्रको उच्च ओहोदाका व्यक्तिहरू अवलोकनमा बारम्बार आउन थालेका छन् ।
मदन भण्डारी विश्वविद्यालयसँगै आउँदो बर्ष जिल्लामा दुई विश्वविद्यालय निर्माण हुने भएका हुन् । बनेपा नगरको साँगामा निर्माण गरिने ‘प्रतिरक्षा’ विश्वविद्यालयका लागि २० करोड ३४ लाख विनियोजन गरिएको छ । नेपाली सेनाद्वारा अध्ययन हुने उक्तm विश्वविद्यालयको पनि डीपीआर भइरहेको जनाइएको छ ।
अर्को महत्वपूर्ण योजनाका बनेपा–पनौती क्षेत्रमा अवस्थित सूचना पैविधि पार्कमा स्थापना गर्न लागिएको सुरक्षण मुद्रण केन्द्र हो । यसको पूर्वाधार निर्माणका लागि पहिलो चरणमा ३० करोड ४० लाख छुट्याइएको हो । पार्क क्षेत्रमा उक्त पूर्वाधार निर्माको काम सुरु भैसककेको छ । काठमाडौस्थित कोटेश्वर–बानेश्वर सडक खण्डसँगै भक्तपुर, सूर्यविनायक–काभ्रेपलाञ्चोक धुलिखेल छ लेन सडक निर्माण लगि एकमुष्ट एक अर्ब २० लाख बजेट विनियोजन भएको छ । साथै, अरनिको राजमार्ग सूर्यविनायकदेखि दोलालघाटसम्म सडक स्तरोन्नतिका लागि सात करोड ४० लाख तथा विपी राजमार्गअन्तर्गत धुलिखेलदेखि सिन्धुलीको सिमानासम्मका लागि ५३ करोड सात लाख बजेट छुट्टिएको छ ।
काभ्रेपलाञ्चोकको अर्को महत्वपूर्ण एवं दीर्घकालीन योजनाको रुपमा पाँचखाल सहरी खानेपानी तथा सरसफाई आयोजना रहेको छ । यसका लागि ३४ करोड ४१ लाख विनियोजन भएको छ । काभ्रेपाञ्चोक समृद्ध बन्ने सूचकका रुपमा ३१ क्रमागत योजना छन् भने चार योजना नयाँ हुन् । बनेपा, पनौती र धुलिखेल नगरक्षेत्रको महत्वपूर्ण आयोजना करिडोर निर्माण सुरुभएको छ । यसका लागि क्रमागत रुपमा गतसालदेखिनै करोडौँ बजेट विनियोजन भइरहेको छ ।
मण्डनदेउपुरमा तीन र धुलिखेलमा दुई सिंचाई योजनामा १० करोड नौ लाख, दोलालघाट–फलाँटे–कोलाती–पोखरीचौंरी सडक कालोपत्रेका लागि ३३ करोड, काभ्रेपलाञ्चोकको १३ तहमै कृषि कार्यक्रम सञ्चालन गर्न नौ करोड ३१ लाख तथा काभ्रेपलाञ्चोक भ्याली स्मार्ट सिटी पूर्वाधार निर्माणका लागि पाँच करोड ९० लाख बजेट विनियोजन भएको छ । विनियोजित योजनामध्ये बनेपा नगरमा २६, पाँचखाल नगरमा २०, मण्डनदेउपुरमा २०, धुलिखेल नगरमा १५, बेथानचोक गाउँपालिकामा पाँच, नमोबुद्ध र भुम्लु गाउँपालिकालगायत स्थानीय तहका विभिन्न योजनामा बजेट छुट्याइएको हो ।
समग्र योजनामध्ये समपुरक अनुदानमा पाँच र विशेष अनुदानमा चार परेका छन् । पुल निर्माणका १६ योजना छन् । ललितपुरको गोदावरी कुण्ड–काभ्रेपलाञ्चोक, पनौतीस्थिथ मानेचौर सुरुङमार्ग अध्ययन तथा शङ्खु–नमोबुद्ध दाप्चा सडकका लागि तीन करोड बजेट विनियोजन भएको छ । यो बर्षदेखि काभ्रेपलाञ्चोकमा सुरुङमार्गको सम्भाव्यता अध्ययनको सुरुवात गरिने पूर्वमन्त्री बाँस्कोटले बताउनुभयो । “पहिलो अध्ययनले अपेक्षित परिणाम देखिए जिल्लामा सुरुङमार्गलाई बजेटको प्राथमिकतामा राखिनेछ” उहाँले भन्नुभयो । उहाँले पहाडी भु–भाग रहेको क्षेत्रमा सुरुङमार्ग, लिफ्टिङ खानेपानी र सिंचाईलाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराइने बताउनुभयो ।
जिल्लामा अर्बमाथिसम्मका महत्वपूर्ण दीर्घकालीन योजना आउनुमा जनप्रतिनिधिको क्षमतामा पनि भरपर्ने बताउनुहुन्छ पाँचखालका कञ्चन अधिकारी । उहाँ भन्नुहुन्छ “हामीले पहिल्यै अड्कलबाजी गरेका थियौँ, समृद्ध काभ्रेपलाञ्चोकका लागि हाम्रा जनप्रनितिधिले कुनै कसर बाँकी राख्नुहुन्नँ ।” उहाँ काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा निर्माण गर्ने चर्चा गरिएको ५३६ मेघावाट जलाशययुक्त विद्युत उत्पादन तथा विमानस्थल निर्माणको योजनालाई अघि बढाउन अब जनप्रतिनिधिको ध्यानाकर्षण त्यतातिर हुनुपर्ने सुझावसमेत दिनुहुन्छ । काभे्रपलाञ्चोकको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निर्वाचित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *