बनेपा,२०७६ वैशाख १३ गते हत्या गरिएकी मण्डनदेउपुर नगरपालिका वडा नम्वर ४ की २५ बर्षिया सरिता दुलालको हत्या गरेको अभियोगमा उनका श्रीमान सुदीप दुलाललाई जन्म कैदको फैसला भएको छ भने परिवारका अन्य सदस्यले सफाइ (छुट) पाएका छन ।
शुरुको बयानमा सरिताका श्रीमान् सुदीपले आफूले हत्या गरेको स्विकारेता पनि घटनाको प्रकृतिले परिवारका अन्य सदस्यहरूको संलग्नता देखिएकाले उनीहरूलाई पक्राउ गरि अनुसन्धान गरेको र सोहि अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशमै १४ महिना कारागार बसेका सरिताका ससुरा ६३ बर्षिय पिताम्बर दुलाल, पिताम्बर दुलालको श्रीमती ६५ बर्षिया रोमकुमारी दुलाल, पिताम्बर दुलालको छोरा ३६ बर्षिया केशबप्रसाद दुलाल, केशबप्रसाद दुलालको श्रीमती ३५ बर्षिया संगिता दंगाल (दुलाल) ले सफाइ पाएपछि घट्नाबारे जानकारहरुले न्याय पूर्ण नभएको हो की भन्ने आशंका गरिरहेका छन ।
त्यो बेला प्रहरीले काठमाडौंस्थित शिक्षण अस्पतालमा भएको शव परीक्षण रिपोर्टले सरिताको हत्या कोही एकजना व्यक्तिबाट मात्रै नभएको र जोडबलले घाँटीमा कसेर मृत्यु भएको देखाएको थियो । प्रहरीको अनुसन्धानबाट दुलाल परिवारमा घरको सम्पत्ति र सरिताको नागरिकता तथा सरिता दम्पतीबाट बच्चा नभएको विषयमा पनि समय समयमा विवाद भइरहने गरेको खुलेको बताएको थियो भने स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दबाबपूर्ण प्रदर्शन गरी सत्य–तथ्य छानबिनको माग गर्दै आएका थिए । १४ महिनापछि भएको अन्तिम फैसलामा परिवारका अन्य सदस्यले छुट पाएपछि स्थानियहरुले न्याय पूर्ण नभएको हो की भन्ने आशंका गरेका हुन । यदि दोशी हो भने भगवानले न्याय गर्ने पनि उनिहरुले बताए । जिल्ला अदालतले घटनाको १४ महिना पछि असार २१ गते न्यायाधीश दुर्गा खड्काको इजलाशले उक्त निर्णय गरेको हो ।
बहिनीको हत्यापछि दाजु कृष्णप्रसाद दाहालले त्यो बेलानै किटानी जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनास्थल तथा लाशजाँच मुचुल्का, प्रहरी प्रतिवेदन, जाहेरी दरखास्त, खानतलासी तथा वरामदी मुचुल्का, शव परिक्षण प्रतिवेदन, प्रतिवादीहरु सुदिप दुलाल, केशव दुलाल, संगिता दुलाल र पिताम्वर दुलाल र रोम कुमारी दुलालले गरेको बयानका आधारमा मृतक सरिता दाहाल (दुलाल) को फोटाहरु लगायतका प्रमाणका आधारमा मण्डन देउपुर नगरपालिका वडा नं.६ स्थित प्रतिवादीहरुको आफ्नै घरमा प्रतिवादीहरु सुदिप दुलाल, पिताम्वर दुलाल, केशव दुलाल, संगिता दुलाल र रोमकुमारी दुलाल समेतको आपसी योजना, सल्लाह, संलग्नता र सहमतिमा मृतक सरिता दाहाल (दुलाल) को हातखुट्टा समाई घाँटी थिची वाँधी कर्तव्य गरी मारेको निश्कर्ष निकालेको थियो ।
पक्राउ परेका ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्न गत ८ जेठमा अदालतले आदेश दिएको थियो । जिल्ला अदालत काभ्रेले श्रीमान् सुदिप, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीतालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । न्यायधीश दुर्गा खड्काको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
त्यो बेला नै पनि पक्राउ परेका ४ जना प्रतिवादीले अदालतमा इन्कारी बयान दिए पनि सरिताका श्रीमान सुदिपले सामुहिक रुपमा हत्या गरेको बयान दिएको जनाइएको थियो । अन्य प्रमाणबाट पनि परिवारका अन्य व्यक्ति कसुरदार होइनन् भन्ने आधार नदेखिएको फैसलामा उल्लेख भएको जनाईएको थियो । तर अन्तिम फैसलामा भने सरितामा श्रीमान सुदीप दुलाललाई मात्र जन्म कैदको फैसला भएको छ ।