बनेपा, केहिदिन देखि नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । हिजो ८ हजार ३२ पीसीआर परीक्षण भएका थिए । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ रहेको छ ।
यसैगरी काभ्रेमा पनि कोरोना संक्रमणदर घट्दै गएको छ । जिल्लामा हिजो ३ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ जना महिला र महाभारत गाउँपालिकाबाट १ जना पुरुष रहेका छन । त्यस्तै जिल्लाका ४१ जना संक्रमणमुक्त भएका छन । हिजो नै काभ्रेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ३९ वर्षीय पुरुष रहेका छन् । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
यसैगरी देशभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमणबाट निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा मुलुकभरबाट थप ५ हजार ६९९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका हुन् । नेपालमा यो सँगै निको हुनेको १ लाख ९९ हजार २४ संख्या पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३२१ पुगेको छ ।