बनेपा, शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व बुधबार तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाईदै छ ।
केहि समयअघिसम्म तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ । सरकारले छठपर्वमा देशभर नै सार्वजनिक बिदा दिन समेत थालेको छ । सामाजिक संस्कृतिको अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । ऋगवेदमा ‘सूर्य आत्मा जगतस्य स्थुपश्च’ अर्थवेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ ।
सूर्यलाई ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । भगवान् श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्तमा सूर्यनारायणमा नै विलिन हुनुभएको प्रसङ्ग पनि रहेको छ । वेदमा सूर्यलाई चौधवटा नामले सम्बोधन गरिएको छ । सूर्यको महात्म्यबारे यजुर्वेद, सामवेद, शुक्लवेद, गीता, मार्कण्डेय पुराण, सूर्य पुराण, साम्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ । सूर्यकै उपासनाबाट याज्ञवल्वयले ज्ञान प्राप्त गरेको आख्यान पनि रहेको छ ।
जनकपुरधाममा सबैभन्दा बढी व्रतालु पुग्नुका साथै मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक वर्ष छ हजारदेखि १५ हजार छठैतिन र छठका व्रतालुले छठपर्व गर्ने गरेको अनुमान छ । छठपर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थापित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुलीझैँ सिङ्गारिएको छ ।
आस्थाको महा पर्वका रूपमा छठपर्व वर्षमा दुई पटक मनाउने गरिन्छ । शरद् ऋतुको कात्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको पष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ । सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एवम् चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै छन् ।
ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा बह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।
छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठीपर्व उल्लेख छ ।
छठ र सूर्य पूजामा भिन्नता ः
काँचहि बाँसके टोकरिया हो दिनानाथ
टोकरी लचकत जाय
बाटमे पुछए जे बटोहिया
टोकरी केकर जाय ?
आन्हर होयबे रे बटोहिया
अरघक टोकरी छठि मायके जाय ।
छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दिनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दिनानाथ अर्थात् सूर्यदेव, छठीमायअर्थात् षष्ठीका देवी दुवैको छठपर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । सूर्यको पूजा गर्दा षष्ठीका देवीअर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह्लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्कसमेत पाइन्छ ।
सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठपर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डव अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।
यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ । पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ ।
षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ ।
सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्ने कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ ।
छठपर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठपर्व मनाउन सकिने र आर्थिक अभाव रहेकाले भिक्षा मागेर भएपनि छठपर्व मनाउने गरेको पाइन्छ ।
छठपर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गर्नु महत्वपूर्ण पक्ष हो । यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
छठपर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ । यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठपर्व मनाउन आफ्नो घर फर्कने गर्दछन, जसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्दछ । विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठपर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगीसमेत सिद्ध भएको छ ।
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्व अन्तर्गत दोस्रो दिन खरना मनाइँने छ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् ।
बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसाद ग्रहण गर्छन् र छठ पनि सकिने छ ।