नेताको आदेशमा होईन, विवेकले भोट हालौं–प्रल्हाद दाहाल

निर्वाचन भनेको निश्चित कार्यकालका लागि प्रतिनिधि छान्ने वा चुन्ने कार्य हो । साधारणतया स्थानीय, प्रादेशिक वा राष्ट्रिय सरकारका विभिन्न अङ्ग अर्थात संसद वा सरकारमा निश्चित भूगोलमा बस्ने बासिन्दाको प्रतिनिधि छान्ने कार्य नै निर्वाचन हो । विश्वका अधिकांश देशले खुला वा बन्द प्रकृयाबाट निर्वाचन गराउने गर्दछन । नेपालमा बालिग १८ वर्ष उमेर पुगेका मतदाताहरूले मत दिएर जनप्रतिनिधि निर्वाचन गर्ने व्यवस्था रहेकोछ ।

अन्य देशमा देशको भौगोलिक अवस्था या जनसंख्या जति भए पनि राजनीतिक दल अत्यन्तै कम हुने गर्दछन । तर हाम्रो नेपाल जस्तो सानो देशमा जहाँ तीन करोड पनि जनसंख्या पुगेको छैन यहाँ भने ८४ वटा पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन । आगामी २०७९ साल ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४१२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगको तथ्यांकले जनाएको छ । आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी उक्त संख्यामा उम्मेदवारी दर्ता भएको तथ्य देखिन्छ ।

अन्य देशमा हरेक कुराको सिमा तोकिएको हुन्छ । कागजी रुपमा त हाम्रो देशमा पनि तोकिए कै छ । तर व्यवहारमा भने बनाउनेले नै लागु गर्दैनन । राज्यले निश्चित उमेर पुगेपछि भत्ता दिने भनेको काम गर्न नसक्ने, शारीरिक र मानसिक रुपले कमजोर भएपछि हो । तर अरु काम गर्न कमजोर हुने, नसक्ने अनि राजनीति चाँहि गर्न सक्ने यो कस्तो मानसिकता विकास भएको होला ? अहिले मंसिर ४ मा सम्पन्न हुने चुनावमा बृद्धभत्ता खाने उमेरका १२० जना नेता अझै सांसद बन्ने चाहानाका साथ मैदानमा देखिएका छन । यसरी सरकारले बृद्धभत्ता दिने उमेर समूहका नै १२० जना प्रतिनिधि सभाको चुनावमा भिड्ने कुराले हाम्रो देशको कानुन माथि नै प्रश्न चिन्ह खडा गरेको हैन र ?

आगामी चुनावमा आयोगको तथ्यांक अनुसार एमालेले १४१, कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन । सबैभन्दा बढी ठाउँमा एमालेले उम्मेदवारी दर्ता गराएको छ । त्यस्तै, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० ठाउँमा उम्मेदवारी दर्ता गराई राप्रपा एमालेपछिको दोस्रो धेरै ठाउँमा उम्मेदवारी दर्ता गराउने दल बनेको छ । त्यस्तै, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको देखिन्छ । सो दलले प्रदेशसभा सदस्य निर्वाचनका लागि भने उम्मेदवारी दर्ता गराएको छैन । प्रतिनिधिसभाको कुल १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ ठाउँमा उम्मेदवारी दर्ता गरेर तेस्रो बनेको छ ।

पछिल्लो समय आम जनतालाई राजनीतिमा कुनै चासो छैन । तर यसको स्वाद थाहा पाएका टाठाबाठालाई भने निकै नै चासो भएको उम्मेद्बारी दर्ता भएको संख्याले पनि प्रष्ट पारेको छ । राजनीति भनेको लुटि खाने स्थान हो, यो राम्रो, इमानदार मान्छेले गर्ने होइन र गर्न पनि सक्दैन भन्ने आम जनताको मानसिकतामा विकास हुँदै गएको छ । हुन पनि अहिले भैरहेको गतिविधिले यहि कुरा प्रष्ट पार्दछ । छोटो समयमा धेरै पैसा कमाउन सकिने, मिहिनेत गर्न नपर्ने, शक्ति आफ्नो हातमा हुने, सबैले मान्ने भन्ने खालको सोचले गर्दा पनि यस्तो भएको हो । तर फेरि एकथरी मानिसमा राजनीति भनेको फोहोरी खेल हो भन्ने सोच पनि तीब्र गतिमा बढ्दै गइरहेको छ । यसले समग्र देशको भने हित गर्दैन । संसारमा जति पनि देशको विकास भएको छ, त्यो राजनीति कै कारण भएको छ भने फेरि बिग्रिएको पनि राजनीति कै कारण छ । यसकारण देशको समग्र विकासमा राजनीति कै हात हुने भएकोले जहाँ जसरी जे गरेर भए पनि राजनीति नै ठिक हुन आवश्यक छ । आम जनता राजनीतिबाट टाढा भएर होइन बरु सहि र असल ब्यक्ति छानेर चाँहि राजनीतिमा सुधार ल्याउन सकिन्छ ।

हाम्रो देशमा आम राजनीतिक पार्टीले आफ्नो बिचार, सिद्धान्तभन्दा पनि कसरी सत्तामा पुग्न सकिन्छ भन्ने मात्र सोचेर अगाडि बढ्दाको परिणाम अहिले आम जनतामा देखिएको निराशाले प्रष्ट पारेकोछ । हिजो बिचार र सिद्धान्तको राजनीति थियो । त्यहि भएर माओबादीले १७ वर्ष जनयुद्ध गर्यो अन्य अरु पार्टीले पनि त्यो बैचारिक फरक भएकै कारण विभिन्न पिडा खपेर निरन्तर आफ्नो अभियानमा लागिरहे । आम सबै पार्टीका कार्यकर्तामा अनुशासन थियो । पार्टीमा आम कार्यकर्ताको लगानी थियो । तर आज त्यसको ठिक विपरीत न पार्टीमा अनुशासन छ न कार्यकर्तामा नै छ । अहिले त जसरी पनि कमाउने र मोजमस्ति गर्नेभन्दा वाहेक कसैको सोच नै अरु केहि छैन । अब यहि तरिका रहिरहने हो भने नेपालमा कुनै पनि पार्टी नै नरहन सक्छन ।

अहिलेको चुनावमा पार्टीको गठबन्धन हेर्दा अचम्म लागेर आउँछ । कल्पना समेत गर्न नसकिने खालका पार्टीहरु सँगै गठबन्धनमा छन । यो सब कुरा आम जनताले पचाउन सकिरहेका छैनन । एमाले र राप्रपाको गठबन्धन, काङ्ग्रेस र माओवादीको गठबन्धन अनि कमल थापा सुर्य चिन्ह लिएर चुनाव लड्ने भएपछि अब पार्टी कहाँ रह्यो त ? सिद्धान्त कहाँ छ त ? भन्ने प्रश्न आम जनमानसमा चलिरहेको छ । सबैले सबै पार्टीलाई भोट हाल्न पर्ने अवस्था सृजना भएपछि देशका यि अनेकौं पार्टी किन चाहियो भन्ने प्रश्न पनि उठ्न थालेको छ । अब यसरी फरक पार्टीका कार्यकर्ताले फरक पार्टीको चिन्हमा भोट हाल्नु पर्ने बाध्यताले गर्दा पनि आम जनता पार्टीसँग अहिले चिडिएका छन ।
अब र तानाशाह प्रवृत्तिले पनि पार्टीहरुलाई दिनहुँ कमजोर बनाउँदै लगेको नेताको आदेशमा भोट हाल्नु पर्ने भएपछि अब पार्टीको अनुशासन कहाँ रह्यो र रु अर्को कुरा आम नेताहरुको घमण्ड छ । हिजो पानी बाराबार गरेर जन्ती मलामी छोडेर पार्टी भनेर बसेका आम कार्यकर्तालाई माथिबाट मिलभन्दा मिल्नुपर्ने अनि नमिलभन्दा फेरि फुट्नु पर्ने परिपाटीले मानसिक रुपमा खलबलाएको छ । यसले गर्दा अहिले आम पार्टीका खास इमानदार कार्यकर्ता पार्टी राजनीतिबाट अलग भएर बसेका छन् । यसले सबै पार्टीलाई ठूलो नोक्सान पुर्याएको छ ।
सबै पार्टीमा हिजो २०४६ सालबाट आजसम्म एउटै अनुहार राजनीतिमा स्थापित छ । पटक पटक सत्तामा पुगेको छ केहि खास योजनाका साथ काम अगाडि बढाएको छैन । अनि फेरि त्यहि ब्यक्ति यसपटक पनि मुख्य उमेदवार बनेर आएको छ । यसले गर्दा पनि आम जनताको चुनाव प्रति कुनै चासो नदेखिएको हो । गर्ने भए त पहिल्यै गरिहाल्थे त अब फेरि के गर्लान् र भन्ने परेको छ । हुन पनि जनताको सोचाइमा सत्यता छ । हिजो पटक पटक त्यहि ठाउँमा हुँदा कुनै काम नगर्ने अनि अब फेरि चिताउनु होस् अब चाँहि काम गर्छु भन्दा आम जनताले कसरी कति पटक पत्याउनु ?

यो दलिय सिस्टममा असन्तुष्टि भएर स्वतन्त्रलाई जिताउने पनि गरिएको छ । गत स्थानीय चुनावमा पनि केहि मुख्य मुख्य स्थानमा त्यो क्रम देखियो । तर अन्तमा चाहे जेसुकै होस् यो पार्टी सिस्टममा पार्टी कै उमेदवार नजितेसम्म केहि पनि हुन सक्दैन । त्यसैले बरु जुनसुकै पार्टी होस् यि भएका मध्येबाट असल ब्यक्ति हेरि पार्टी मध्येबाट नै उमेदवार जिताउन लाग्नुपर्छ । भोट अब जुन पार्टीमा हाले पनि हुने कुरा आम राजनीतिक पार्टीले नै बानी लगाएकै छन । त्यसमा केहि फरक परेन ।

आम जनाताले अब विशेष ख्याल गर्नुपर्ने भनेको उमेदवारको पृष्ठभुमि कस्तो छ रु भोलि जनताको काममा ध्यान दिन्छ कि दिँदैन ? आर्थिक अनुशासन कस्तो छरु हिजोको दिनमा के के गरेको थियोरु आदि इत्यादी कुरामा ख्याल गरि मतदान गर्दा ठिक उमेदवार छान्न सजिलो होला । अब आम जनाताको चाहाना भनेको प्रत्यक्ष चुनावबाट प्रधानमन्त्री वा राष्ट्रपति छान्नु पर्छ भन्ने छ । अब क्षणिक सोचेर भोट हाल्ने मतदाता र क्षणिक सोचेर राजनीतिमा आएका उमेदवार दुबै हामीलाई काम छैन । अब दीर्घकालिन सोच गरेर अगाडि बढ्दा मात्र ठिक हुन्छ । अब नेताले कार्यकर्ता र कार्यकर्ताले नेतालाई गालि गर्न छाडेर आ–आफ्नो स्थानबाट सबैले देशको बारेमा सोची अगाडि बढ्नु पर्छ । यसो गर्दा मात्र सबैको भलो हुन्छ । देश बन्दा मात्र हामी सबैको हित हुन्छ । होइन भने हामी जहिले जहिको त्यहीँ भैरहने छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *