जिल्लाका छ सहकारीलाई तरकारी बोक्ने गाडी

बनेपा,पूर्व सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले आफु बेइमानी गर्नका लागि राजनीतिमा नआएको बताएका छन ।
शुक्रबार जिल्ला सहकारी सघं लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रम अन्तर्गत सहकारीका लागि उपलब्ध गाडीको साँचो तथा सहकारीको तथ्यांक विवरण पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले भने–पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन । सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताउदै पूर्वमन्त्री बाँस्कोटाले समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै सहकारीले आर्थिक परिवर्तनमा ठूलो भूमिका खेल्ने बताए ।
समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव भएको बताए । मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँगसँगै जाने बताउदै बाँस्कोटाले श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा ढुवानीका साधन प्राप्त गर्ने छ सहकारीका प्रतिनिधिलाई साँचो हस्तान्तरण गर्नुका साथै सहकारी तथ्याङ्कीय विवरण पुस्तकको विमोचन गरेका थिए ।
संघका अध्यक्ष विनोद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला कृषि सहकारी सघंका अध्यक्ष सुमन नेपाललगायतले विषयगत सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने यान्त्रिकरणमा सरकारले कर छुट दिनुपर्ने माग गरेका थिए । संघका सदस्य ठाकुरप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा सचिव दिलिप शर्माले कार्यक्रम सञ्चालन गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजारसम्म पु¥याउन पहिलो चरणमा तीन नगरपालिकाका छ सहकारीलाई ७० प्रतिशत अनुदानमा गाडी प्रदान गरिएको जानकारी दिए । गाडी पाउने सहकारीमा शारदादेवी महिला बिकास बहुउद्देश्यिय सहकारी संस्था र जन जागृती तरकारी तथा फलफुल सहकारी धुलिखेल, आजाद कृषि सहकारी र किटिनी कृषि सहकारी पाँचखाल तथा रसकमल कृषि सहकारी र अग्रसर महिला बहुउद्देश्यिय सहकारी संस्था मण्डनदेउपुर रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *