बनेपा, देशभर जस्तै काभ्रे जिल्लामा पनि कोरोना संक्रमितहरुको संख्या थपिदै गएको छ । हिजो पनि बनेपा ७ मा एक व्यापारीका १२ वर्षीय छोरामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हिजो नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ भने कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । आइतबार काठमाडौंमा ९० र ललितपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५ सय १५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । आइसोलेसनमा ६ हजार ५ सय ४४ जना सक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ । हिजो थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ । यस्तै, थप दुई जनाको मृत्यु भए संगै मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
काभ्रेको बनेपा–७, मा कपडा पसल चलाउँदै आएका एक व्यापारीका १२ वर्षिया छोरामा कोरोना संक्रमण देखिएको हो । सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा बस्दै आएको सो परिवारले सिरक डस्नाको व्यापार गर्दै आएको छ । सो परिवारका १२ वर्षिय छोरामा कोरोना पोजिटिभ देखिएको हो । बालकमा संक्रमण देखिएसँगै सबै परिवार सदस्यको कोरोना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा परीवारको रिपोर्ट भने नेगेटिभ आएको छ ।
यसैगरी शनिबार मात्रै पाँच प्रहरी र एक अस्पतामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संघिय प्रहरी कार्यालय जनागालमा ५ जना र शीर मेमोरियल अस्पताल बनेपामा एक जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको थियो ।
हिजोसम्म काभ्रेमा ४१ जनामा कोरोना संक्रमण देखिएको छ त्यो मध्ये २७ जना कोरोना जितेर घर फर्किसक्नु भएको छ भने १३ जना आइसोलेसन कक्षमा उपचाररत हुनुहुन्छ ।
संक्रमण देखिएकामा ८२ बर्षिय बृद्धा, ग्यारेजमा काम गर्ने मिस्त्रि, प्रहरी, अस्पतालमा कार्यरत कर्मचारी रहेका छन । शुक्रबार धुलिखेल–९ का एक बृद्धमा कोरोना संक्रमण देखिएको थियो । बिहिबार बनेपा न.पा.१ का २९ बर्षिया पुरुष र बनेपा न.पा ७ की ४४ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको थियो । बुधबार बनेपा जनागाल ग्यारेजमा काम गर्ने २० बर्षका युवकमा कोरोनाको संक्रमण देखिएको थियो । मंगलबार काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण देखिएको थियो । संघीय प्रहरी कार्यालयमा कार्यरत उनीहरुमा कोरोना पुष्टि भएको हो ।
यसैगरी विदेशमा कोरोनाबाट १९१ नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुई जनाको कोरोनाका कारण मृत्यु भएसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या १९१ पुगेको छ ।
यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ । गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ ।
विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत,साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो ।