नमुना युवा सभा अभ्यास सुरु


भकुण्डेबेशीन, मोबुद्ध नगरपालिकाका युवाहरुका लागि नेतृत्व विकास गर्ने उद्देश्यसहित नमुना नगर युवा सभाको अभ्यास कार्यक्रम सुरु भएको छ ।
हिजोदेखि सुरु भएको कार्यक्रमको नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे । कार्यक्रम नमोबुद्ध नगरपालिका नगर युवा परिषदको आयोजना तथा राष्ट्रिय युवा परिषद तथा सरोकार समाज नेपालको समन्वयमा सञ्चालन गरिएको हो । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका १६ देखि २४ बर्षसम्मका ३५ जना युवाको सहभागिता रहेको छ । सहभागीहरुलाई नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल र युवा अभियन्ता सन्जीप न्यौपानेले प्रशिक्षण दिनेछन् ।
मंगलबारसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नेतृत्व विकासका लागि नगरपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएकोमा त्यसैको निरन्तरतास्वरुप नमुना नगर युवा सभाको अभ्यास कार्यक्रम आयोजना गरिएको बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले राज्यको मार्गचित्र कोर्ने अभ्यासको थालनी नमोबुद्ध नगरपालिकाले गरेको बताए । हुलदंगा, जुलुस र धर्नामात्रै राजनीति नभई राज्यसत्ता सञ्चालनका लागि राजनीति आवश्यक रहेको र यस्ता कार्यक्रमले राजनीतिक क्षेत्रमा युवाहरुको संलग्नतामा वृद्धि हुने बताए । नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले युवालाई जिम्मेवार बनाउन, युवाको सवाल पहिचानसहित समाधानका उपाय निकाल्न कार्यक्रम आयोजना गरिएको बताए ।
नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजालले युवाहरुका लागि राजनीतिक एवं कानुनी अभ्यास सिक्ने अवसरको रुपमा कार्यक्रम आयोजना भएको बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै युवा अभियन्ता सन्जीप न्यौपानेले स्थानीय सरकार सञ्चालन, युवाका सवाल एवं माग पहिचान, चेतना निर्माणमा युवाको सहभागिता, लोकतन्त्र र यसका अभ्यास तथा नेतृत्व विकासबारे युवाहरुलाई प्रशिक्षण दिइने जानकारी दिए । कार्यक्रमको सञ्चालन नगर युवा परिषदका कार्यकारी सदस्य लक्ष्मीराज चिमोरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *