पनौती, पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा स्थानियको सक्रियतामा पञ्चधातुबाट निर्माण गरिएको ९ फिट अग्लो गणेश मूर्तिको विशेष समारोहका बिच अनावरण गरिएको छ ।
मूर्तिको १००८ स्वामी रमणानन्द गिरी र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गर्नु भएको हो । गोरखनाथ मन्दिर डाँडामा रहेको खाली भिरालो जग्गामा करिब रु ७१ लाख रकम सङ्कलन भएकोमा करिब रु ६२ लाख बराबरको लागतमा गणेश मूर्तिलगायत वरिपरि बाटिकासमेत निर्माण गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार बस्नेतले बताउनु भयो । बस्नेतले बाँकी रहेको रकम संरक्षण कोषमा राखिएको पनि बताउनु भयो ।
गोरखनाथडाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठीक अगाडि निर्माण गरिएको गशेणको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि आकर्षण केन्द्र बनेको छ । गणेशको मूर्ति स्थापनासँगै निर्माण गरिएको बाटिकाले त्यहाँ पुग्ने धार्मिक पर्यटन एवं भक्तजनलाई थप आकर्षक तुल्याएको स्थानीय बासिन्दा बताउँछन् ।
बाटिकामा यसअघि वृक्षरोपण गरिएको छ । माघ महिनाभर लाग्ने बाह्रवर्षे मकर मेलाको अवसर पारेर सो क्षेत्रमा थप अर्को धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यले निर्माण गरेको गणेश मन्दिर र बाटिकाले दर्शनार्थीलाई थप आनन्द प्रदान गर्नेमा गणेश मन्दिर निर्माण उपभोक्ता समिति आशावादी रहेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताउनु भयो ।