शुरु हुदै सेक्यूरिटी प्रेस, पुरा हुदैं बाँस्कोटाको योजना


बनेपा, तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री, विकास प्रेमी काभ्रेली नेता गोकुलप्रसाद बाँस्कोटाले अधि सारेको महत्वपुर्ण योजना मध्येको एक सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट आउँदो छ महिनाभित्र अन्तःशुल्क स्टिकर छाप्न शुरु हुने भएको छ ।
पनौती नगरपालिका–५ मा रहेको उक्त केन्द्रमा गत कात्तिकमा इराकबाट ल्याई जडित दुई थान मेसिनबाट नमूनाका रूपमा अन्तःशुल्क ‘स्टिकर’ छापिएको छ । केहि समयअघि अर्थमन्त्री जनार्दन शर्माले उक्त केन्द्रको अनुगमन गर्दै केन्द्रमै मन्त्रालयलाई आवश्यक पर्ने अन्तःशुल्क स्टिकर तत्कालै छापेर उपलब्ध गराउन निर्देशन दिएका थिए । उनले मन्त्रालयलाई वार्षिक रु तीन अर्ब अन्तःशुल्क स्टिकर आवश्यक पर्ने भएकाले मेशिन थप गर्नसमेत आग्रह गरेका थिए । केन्द्रले छ महिनापछि अन्तःशुल्क स्टिकर उत्पादन गर्न सकिने जनाएको छ । केन्द्रका निर्देशक विकल पौडेलले हाल जडित दुई मेशिनबाट वार्षिक ६० करोड अन्तःशुल्क स्टिकर छाप्न सकिने बताए ।
उनका अनुसार बजेट अभावका कारण हाल भौतिक निर्माणबाहेकको सबै काम बन्द अवस्थामा रहेको छ । केन्द्र परिसरमा गोदाम भवन निर्माण भइरहेको छ । केन्द्रमा गत कात्तिकमा अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेशिन (हाई सेक्युरिटी डिजिटल प्रिन्टिङ मेसिन) र एक थान डाई कटिङ मेशिन ल्याइएको थियो । गत आवको रु ७३ करोड बजेटबाट उक्त मेशिन तथा केही सूचना–प्रविधिका सामग्री खरीद गरिएको हो । केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको पहलमा प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क) मा प्रेसको काम सुरु गरिएको थियोे ।

प्रारम्भिक चरणमा करिब रु ३३ अर्बमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको केन्द्र निर्माण सम्पन्न गर्नका लागि क्रमागत बजेट विनियोजन गरिने जनाइए पनि चालू आवमा एकीन बजेट विनियोजन गरिएको छैन । उक्त सेक्यूरिटी प्रिन्टिङ प्रेसमा राहदानी, बैंक नोट, चालक अनुमतिपत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, सिमकार्डलगायत सुरक्षित छपाइका लागि पार्कमा केन्द्र स्थापना गर्ने निर्णय गरिएको थियो ।
प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिक रूपमा बाहिरिने रु १० अर्ब जोगिँदै जाने अपेक्षा गरिएको छ । केन्द्रका लागि २०० प्राविधिकसहित करिब एक हजार जनशक्तिको आवश्यकता पर्नेछ । कूल २५७ रोपनी जमिनमा अवस्थित पार्कभित्र हाल दुई वटा ठूला व्यापारिक÷प्रशासनिक भवन तथा चार वटा सुविधा सम्पन्न आवासीय भवनलगायत नौ भवन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *