धुलिखेल–काठमाडौ हाइड्रोजन बस चल्दै

धुलिखेल, धुलिखेल र काठमाडौँ विश्वविद्यालय परिसरमा ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । धुलिखेल नगरपालिका, काठमाडौँ विश्वविद्यालय र रोटरी क्लब धुलिखेलले ‘ग्रिन सिटी’, शून्य कार्बन उत्सर्जनका लागि हाइड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
बुधवार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ विभागका डिन प्रो.डा मनिष पोखरेल र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रूपमा हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा आगामी पाँच वर्ष हाइड्रोजनको माध्यमबाट सञ्चालन गर्ने गरी दुई वटा बस धुलिखेलबाट काठमाडौँसम्म सञ्चालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्याँसलाई विस्थापित गरी हाइड्रोजन ग्याँस प्रयोग गर्ने उल्लेख छ । त्यसका लागि नगरपालिकाले नीति तथा कानुन निर्माण गर्ने, रोटरी क्लवले आर्थिक संयोजन र विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।
नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले सुरु गरेको शून्य कार्बन उत्सर्जन अभियानमा विश्वविद्यालय र रोटरी क्लबसँग भएको समझदारी महत्यवपूर्ण हुने धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
हरित ऊर्जा मार्फत हरित हाइड्रोजन उत्पादन र उपयोग गरी ग्रिन हाइड्रोजनलाई वैकल्पिक ऊर्जाका रूपमा ल्याउने सम्झौताको मुख्य लक्ष्य रहेको विश्वविद्यालयका डिन. डा मनिष पोखरेलले बताउनु भयो । काठमाडौँ विश्वविद्यालयले अध्ययन, अनुसन्धानसँगै वातावरण संरक्षणमा आर्थिक समृद्धिका लागि कार्य गरेको विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले बताउनु भयो ।
हाइड्रोजन उत्पादनका लागि विश्वविद्यालयमा उपकुलपति डा. भोला थापाको नेतृत्वमा ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिं थापा र प्राज्ञिक, औद्योगिक क्षेत्र समन्वय समितिका संयोजक डा. राम लामाको टिम सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *