लाखौं आए, सकियो मकर मेला

पनौती, पनौती नगरपालिका वडा नम्बर ७ स्थित त्रिवेणीघाटमा प्रत्येक बाह्र वर्षमा लाग्ने ऐतिहासिक, धार्मिक १२ वर्षे मकर मेला सकिएको छ । मेलाको अन्तिम दिन शनिबार सबै भन्दा बढी भक्तजनहरू पनौती आएका छन । १२ वर्षमा एक पटकमात्र लाग्ने भएकोले भक्तजनहरूको घुइँचो भएको हो ।

शुरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढी रहेको र जिल्लामा समेत संक्रमित संख्या बढीरहेका कारण जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भिडभाड नगर्न निर्देशन दिएको थियो । बिस्तारै कोरोनाभाइरसको त्रास घटेसंगै मेला हेर्नका लागि टाढा टाढाबाट मानिसहरू आएका हुन । मेलाको अन्तिम दिन बनेपादेखि सवार जाम भएपछि मानिसहरू पैदल हिँडेर नै मेला हेर्न पुगेका थिए । यो बर्ष २५ लाखको अपेक्षा भएपनि कोरोनाभाइरसका कारण करिब १० लाखले मेला भरेको अनुमान छ ।

नेपालको एक मात्र स्थान उत्तर प्रयागका रूपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजनहरू मेला भर्न आउने गरेका थिए । सत्ययुगमा देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहिल्यासँग छल गरेर अनुचित यौनसम्वन्ध कायम गरेपछि गौतम ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए । उनी पापबाट मुक्त भएका थिए भन्ने आख्यान छ । त्यही किंवदन्तीका आधारमा पनौतीमा हरेक १२ वर्षमा एक महिना मेला लाग्दै आएको छ ।

त्रिवेणी धाममा आई स्नान गर्दा आफूले जीवनमा गरेका हरेक पापबाट मुक्त भइन्छ भन्ने विश्वास जनमानसमा रहेको पाईन्छ । प्राचीन समयमा इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव आदी देवीदेवता र महापुरुषहरू पनौतीलाई तपोभुमि मानेर पनौतीमा आउने गरेको पाईन्छ ।
तत्कालिन राजा प्रताप मल्लले वि सं.१७२७ मा रानीपोखरी बनाईसकेपछि विभिन्न तिर्थस्थलको जल राख्ने क्रममा पनौती स्थित त्रिवेणीघाटको जल पनि राखिएको शिलालेखमा उल्लेख गरिएको इतिहास विद्ले जनाएका छन । तीन नदिको संगमस्थल त्रिवेणी घाटमा पुण्यमाता र रोशी खोला बाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता छ ।
भारतको प्रयागमा गंगा र यमुना नदिको संगममा गुप्त रुपले सरस्वती मिसन नदि बहेझै पनौती स्थित रोशीलाई रुद्रावती नदि, पुण्यमाता नदिलाई लीलावती र गुप्तरुपले बगेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दुध बग्ने नदीलाई पद्यमावती भनिन्छ । यहाँ मेला १२ वर्षमा लागेपनि स्नान भने सधै गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *