बनेपा, बनेपा नगरपालिका वडा नम्बर ५ र ६ नम्बर वडामा निर्माण कार्य सम्पन्न १६ सय सिँढीको संघीय सांसद एवं पूर्व मन्त्री गोकुल बाँस्कोटालगायतका जनप्रतिनिधिहरूले अवलोकन गरेका छन् ।
नगरपालिका र पर्यटन मन्त्रालयको पाँच करोड ३५ लाख रुपैयाँमा निर्माण गरिएको सिँढीमा ८ फिट चौडाइ, साइड ड्रेन, पार्किङ, बगैँचा, सार्वजनिक शौचालय, पिकनिक स्पोर्ट लगायतका संरचनाहरू रहने छन । बाँस्कोटा सहित नगर प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठ, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरू, कर्मचारीहरूलगायतको सहभागितामा अवलोकन भएको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरूको स्वास्थ्यका लागि धार्मिक हिसाबले पनि १६ सय सिँढी निर्माण गरिएको प्रमुख लक्ष्मी नरसिंह बादेले बताउनु भयो । चण्डेश्वरी मन्दिरको प्रवेशद्वारबाट बनेपाको गोसाईस्थानसम्म १६ सय सिँढी निर्माण गरिएको छ । बाँस्कोटाको पहलमा यो सिँढी सहितको पार्क, प्रतिरक्षा विश्वविद्यालय, फिल्म सिटी, स्मार्ट सिटी अन्तर्गत पुराना धारा तथा पोखरी र मन्दिरहरूको पुनर्निर्माण, बासुकी पार्क, पक्की सडक निर्माण, विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणलगायत हरेक वडामा गौरवका योजना सञ्चालन भइरहेका छन ।