काभ्रेमा थपियो धार्मिक पर्यटकीय क्षेत्र–ब्रम्हा पार्क

नाला, जिल्लाको बनेपा–४, नालामा धार्मिक पर्यटकीय क्षेत्र थपिएको छ । महादेवखोला ब्रम्हायणी क्षेत्र उत्तरगया विकास समाजले जनस्तरको सहयोगमा निर्माण गरेको ३० फिट अग्लो ब्रह्माको प्रतिमासहितको पार्क, सिँढी, ब्रह्माका दश अवतारका प्रतिमा समेत रहेको ब्रम्हा पार्कको निर्माण गरिएसँगै जिल्लामा धार्मिक पर्यटकीय क्षेत्र थपिएको हो ।

जसको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार उद्घाटन गर्नु भएको छ । उद्घाटनपछि राष्ट्रपति भण्डारीले ब्रह्माजीको प्रतिमामा पञ्चामृत स्नान गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीले विश्वमा तेस्रो नेपालको काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थापना गरिएको ब्रह्माको प्रतिमा सहितका संरचनाहरुले नागरिकहरुको समेत मुलुक निर्माणमा सहभागिता रहेको पुष्टि गराउँदै आफ्नो क्षेत्रको विकास आफै गर्न सक्षम रहेको उदाहरण बनेको बताउनु भयो । धार्मिक क्षेत्रबाट नेपालका विभिन्न क्षेत्रहरू पहिचान भएको सन्दर्भमा यो क्षेत्रलाई पनि थप धार्मिक पर्यटकीय क्षेत्र बनाउन सहज हुने राष्ट्रपति भण्डारीले बताउनु भयो । ब्रह्माजीको प्रतिमा विरलै छन्, प्रतिमा सहितको पार्क निर्माण कार्यले धार्मिक र पर्यटकीय स्थलका रुपमा रहने विश्वास ब्यक्त गर्दै राष्ट्रपति भण्डारीले नाला क्षेत्रमा ब्रह्माको प्रतिमा निर्माणले सामुदायिक भावनाको विकास गराएको बताउनु भयो ।

काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले जनस्तरबाट निर्माण गरिएको उक्त क्षेत्रको संरक्षण र थप विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो । स्थानिय दाताहरुको लगानीमा निर्माण गरिएको विश्वमा तेस्रो र नेपालको पहिलो दश अवतार सहितको मन्दिर भएको मन्दिर निर्माण समितिका अध्यक्ष पूरुषोत्तम सापकोटाले बताउनु भयो । सापकोटाले विश्वका दूई मूलूक भारत र थाईल्याण्डमा यस अघि नै विष्णूका दश अवतार सहितको मन्दिर बनिसकेको र नेपालमा पनि यस्तो मन्दिर बने संगै नेपाल तेस्रो मुलुक बनेको बताउनु भयो ।
धार्मिक एंव पर्यटन प्रवर्दनको हिसावले यस ठाँउलाई थप महत्वपूर्ण बनाउनका लागी अष्टमातृका वरिपरि ब्रम्हायणी क्षेत्रमा उल्लेख्य विशेषता सहितको ब्रम्ह्मा मन्दिर निर्माण गरिएको हो । करिव ९१ रोपनी क्षेत्रफलमा रहेको यस क्षेत्रमा वृहत गूरुयोजना अनूरुप पहिलो चरणमा दश अवतार सहित ब्रम्ह्माको मूर्ति र पार्क तयार भएको समितिले जनाएको छ । ब्रम्ह्मा मन्दिर संगै महादेव खोला परिसरमा मन्दिर, घाट तथा अन्य निर्माण कार्य समेत सम्पन्न भएको छ ।

नाला क्षेत्र महादेवस्थानको बृहत्तर विकास तथा रुद्रायाग शैव महायज्ञ आयोजना गरी सोही क्षेत्रको संरक्षण, प्रवर्द्धन गर्ने गरी २०७१ मा आयोजित महायज्ञमा ब्रह्माको प्रतिमा सहित धार्मिक पर्यटन क्षेत्र निर्माणका लागि ५ सय ४६ जनाले १० हजार भन्दा धेरै आर्थिक सहयोग गरेका थिए भने १ हजार ४ सय ८ जनाको आर्थिक, भौतिक, नैतिक सहयोग गरेका थिए । पहिलो चरणमा महादेव मन्दिरका साथै अन्य संरचना निर्माण गरेकोे समितिले दोस्रो चरणको कार्य सुरु गरेको थियो । ब्रह्मा क्षेत्रको दोस्रो चरणको निर्माण कार्यमा १ करोड ५ लाख सहित थप काम घेराबार, शौचालय, धारापानी र शिलालेख निर्माण सम्पन्न हुँदा १ करोड २० लाख ५० हजार खर्च भएको छ । तेस्रो चरणमा भ्यु टावर लगायतका संरचनाहरु तयार हुने अध्यक्ष पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *