बनेपा, हिजो सोनाम ल्होछार बिशेषगरी तामाङ समुदायले काभ्रेका बिभिन्न स्थान र देशभर विशेष कार्यक्रम आयोजना गरेर मनाएका छन । तामाङ समुदायले हरेक नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गर्छन । पहिले एकदिनमा मनाउने ल्होछार अहिले साता ब्यापी रुपमा मनाउने गरिन्छ । केन्द्र सरकारले सोनाम ल्होछारमा एकदिन सार्वजनिक बिदा दिने गरेपनि पालिकाहरुले भने बसोेबार अनुसार थप बिदा समेत दिने गरेका छन । त्यही अनुरुप काभ्रे जिल्लाका पनि तेमाल गाउँपालिका, चौरी देउराली गाउँपालिका, रोशी गाउँपालिका र खानीखोला गाउँपालिकाले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार २८५९ तावार सोनाम ल्होछार (बिरालो बर्ग) को अवसरमा ३ दिन सार्वजनिक विदा दिएका छन । ती पालिकाहरुमा माघ ७, ८ र ९ गते सार्वजनिक विदा रहेको छ ।
खानीखोला गाउँपालिकाले ताम्बा र ह्वाईखा (कविता) प्रतियोगीतासँगै ‘खानीखोला प्रतिभा सम्मान कार्यक्रम’ गरी ल्होछार मनाएको छ । पहिलो दिन माघ ७ गते सेग्र्याम् र दोस्रो दिन ताम्बा र ह्वाईखा (कविता) प्रतियोगिता गरेको खानीखोलामा आज बृहत साँस्कृतिक कार्यक्रमसँगै खानीखोला जन्मिएर विभिन्न क्षेत्र उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रम छ । त्यस्तै अरु पालिकालेपनि बिभिध कार्यक्रमका साथ ल्होछार मनाएका छन ।
नमोबुद्ध नगरपालिकाले वडा नं ७ स्थित रजबम पोखरी गुम्वा परिसरमा विभिन्न कार्यक्रमका साथ ल्होछार मनाइएको छ । लामा सेवा समिती रजवम पोखरी, सोनाम ल्होछार मुल समारोह समितीले विभिन्न सास्कृतिक प्रस्तुती सहित गरेको कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला), बिनोद वल लगायत स्थानीय प्रतिभाले प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।
कार्यक्रममा धामी नाच सहितको झाँकी प्रस्तुत गरिएको थियो । सो स्थानमा रहेको अष्टमंगल स्तुपा निर्माणमा सहयोग गर्ने मोहनसिं लामा, उत्तरध्वज लामा, दोमनसिं लामा, डम्बरसिं लामा, ठगराज घिमिरे, हरिबहादुर बल लामा, टासी लामा, केदारप्रसाद आचार्यलगायत चन्दादातालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख कुनसाङ लामाले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षणको लागि नगरले बजेट र कार्यक्रम तय गरेको बताए । नगर उपप्रमुख रत्नबहादुर लामा, एमालेका नगर अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हरि तिमल्सिना, नगर अध्यक्ष मिन्डु लामा, वडा नम्बर ११ का अध्यक्ष कृष्णबहादुर तामाङ, वडा नम्वर ७ का अध्यक्ष धर्मसिं लामा, स्थानिय उद्धवहुमागाई, मित्रप्रसाद खनाल, उत्तरध्वज लामा, लामा सेवा समितीका सभापति मोहनसिं लामालगायतले सास्कृतिक बिबिधताबारे चर्चा गरेका थिए । ल्होछारको अवसरमा नमोबुद्ध नगरपालिकाले आजलाई सार्वजनिक विदा दिएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रोअनुसार हिजो २८५९ औं वर्ष सुरु भएको छ । यससँगै बाघ वर्ष पूरा भएर बिरालो वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।
ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । देशका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।