पनौती, पनौतीमा जारी यो वर्षको ज्याः पुन्ही अर्थात हिलेजात्रा हिजो साँझ सम्पन्न भएको छ । तिन दिनसम्म चल्ने यो जात्रालाई ज्याः पुन्ही अर्थात काम काजको मिचोमा पर्ने यो जात्रालाई पहिला पहिला घुमे जात्रा भन्ने चलन पनि थियो । यस जात्रामा टाढा टाढा गाँउबेसीबाट घुम छाता (पातको छाता) बेच्न पनौती बजार लगायत अन्य ठाँउमा ल्याउने गरिन्थ्यो । त्यति बेला यो घुम छाता ओढेर वर्षा घाममा धान रोप्ने चलन थियो ।
‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’, स्थानीय बूढापाकाको भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य पनि छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल जात्रा मनाउँछन् पनौतीवासी । भोलिपल्टदेखि खेतको काम थाल्ने चलन छ, यहाँ । जात्रा सकेर खेतमा रोपाइँ शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिन्छ । जात्रा मनाएको चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ । यहाँको जनविश्वासअनुसार जात्राको अन्तिम दिन पनि वर्षा हुनैपर्छ । प्रत्येक वर्ष यस्तै हुँदै आएको अनुभव पनि छ, यहाँका बासिन्दासँग । तर यो वर्ष भने तेति धेरै हावाहुरी र वर्षा भएन ।
किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारीपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिदै आइएको स्थानीय बताउछन् । ५० मिटर चौडा पुण्यमाता खोलामा हरेक वर्षको त्रयोदशीका दिन नागको प्रतीकका रूपमा दुई बास तेस्र्याइने र एक घण्टा लगाएर तर्ने गरिन्छ । तीन दिनसम्म मनाइने यो जात्रालाई स्थानीय पर्वमध्येको ठूलो जात्राका रुपमा लिइन्छ । जात्राअन्तर्गत त्रयोदशीका दिन खोला तर्ने काम सकिएपछि चतुर्दशीका दिन पनौती नगरका सम्पूर्ण देवीदेवताका मठमन्दिरमा पूजाअर्चना गरिन्छ । साथै, ईन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा रहेको गणेशमूर्तिलाई खटमा राखी धुमधामका साथ नगर परिक्रमा गराइन्छ ।
जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र ईन्द्रेश्वरका तीन रथको भागदौडसँगै यौन क्रियाकलापमा रुमाउँदै एकापसमा जुधाउने काम हुन्छ । स्थानीयवासीको भनाइमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन् ।
महादेव भने त्रिवेणीमा हामफाली लुक्छन्, तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन् । भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्छ । रथ जुधाइसँगै अविरजात्रा पनि हुन्छ । लखेट्दै गएर भैरवले चौतर्फी घेराबाट भद्रकालीलाई बीचमा पारेपछि पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणी भने शान्त स्वभाव प्रस्तुत गर्छिन् । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ ।