सबै पालिका हरुमा नीति कार्यक्रम र बजेटको छलफलमा जारी


बनेपा, जिल्लाका सबै पालिका हरुले आर्थिक वर्ष २०८०÷८१ का लागि नीति, कार्यक्रमका र बजेट सार्वजनिक गरेर छलफल गराई रहेका छन् ।
हिजो असार १० गतेसम्ममा प्रस्तुत नीति, कार्यक्रमका र बजेटलाई यो महिना भित्रै पारित गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यही अनुरुप सबै पालिकाहरुले नीति, कार्यक्रमका र बजेट सार्वजनिकको शुभारम्भ गरेका हुन । केहि पालिकामा छलफल जारी रहेको छ भने केहिमा स्थगित कही बिबाद भैरहेको छ ।
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आगामी आव २०८०÷८१ का लागि नीति, कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।
बनेपा नगरपालिकामा १ हजार रुपैया भन्दा कम सम्पत्ति कर बुझाउने करदाताहरुको छुट्टै अभिलेख राख्ने र अति गरिब नगरबासिहरुहरुको घरजग्गा व्यवस्थित गरी खरिद विक्रीमा सेवा दस्तुर लिनेको लागि राहत प्रदान गर्ने घोषणा गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।
अरनिको राजमार्ग विस्तारका क्रममा हुन सक्ने पूर्वाधार क्षतिको तत्काल मर्मत र निर्माण, सबै वडा कार्यालयसम्म पुग्ने पक्की सडक निर्माण, नयाँ सडक निर्माण गर्दा अपाङ्गतामैत्री फुटपाथ निर्माण, खानेपानी र ढल निकासको व्यवस्था, साबिकका सडकहरुको स्तरोन्नति लगायतका विषय प्राथमिकतामा राखिएको छ । उपप्रमुख विमला सापकोटाले नगरको आगामी वर्ष २०८०÷८१ को बजेट १अर्ब ३५करोड ४९लाख ७२ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो ।

पनौती नगरपालिकाको १३ औं नगरसभा स्थगित भएको छ । नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउनुभएको थियो । सभा संचालन भएको जानकारी संगै आर्थिक बर्ष २०८०÷८१ को निति तथा कार्यक्रम प्रमुखले वाचन गर्न खोज्दा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले सहमति नखोजेको भन्दै विरोध गरेपछि नगर प्रमुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित गर्नुभएको थियो ।

सबै भन्दा पहिले धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि नगर सभाको तेह्रौँ अधिवेशन बुधवार शुरु गरेको थियो । जसको नगर सभामा आगामी वर्षका लागि १ अर्ब १५ करोड १५ लाख रकम विनियोजन भएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख नीराजन जंगमले प्रस्तुत गर्नु भएको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास भएको छ । त्यस्तै २०७९÷२०८० मा नगरपालिकाले गरेको गतिविधि यथार्थ स्थिति समीक्षा नगर उपप्रमुख नीराजन जंगमले प्रस्तुत गर्नु भएको प्रतिवेदन सर्वसम्मतले पास भएको छ । नगर सभाको शून्य समयमा सभाका सदस्यहरुले उठाएका समग्र विषयवस्तुमाथि छलफल भएको थियो । नगर सभा सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले पास भएका विधेयकहरु प्रक्रियाबाट प्रमाणीकरण हुने बताउनुभयो ।

नगर प्रमुख अशोक ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्त अल्पता मुक्त नगर, दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने घोषणा गर्नु भयो । ‘नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ’–नगर सभा प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘काभ्रे हाईपरटेन्सिभ क्यास्केड केयर कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।’ सभाले धुलिखेल नगर अस्पताल संचालन, स्वास्थ्य पर्यटन गन्तव्यको, रोग विरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बीमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँ मुक्त सहर, विपदमा नगरपालिकाको साथ, अत्यावश्यकीय औषधी तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर संचालन घोषणा गरेको छ ।

शिक्षामा स्वः उत्प्रेरित शिक्षकले मात्र सिकाउँछन् भन्ने कार्यक्रमलाई प्राथमिकता दिने, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था मिलाई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाई उपलब्धिको मुल्यांकन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिने नगर प्रमुख ब्याञ्जुले बताउनुभयो ।
विनियोजन भएको बजेट मध्ये चालु तर्फ ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्च तर्फ ४६ करोड ७९ लाख ६८ हजार रहेको छ । वित्तीय व्यवस्था तर्फ ७० लाख विनियोजन भएको छ ।
त्यसैगरी नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०÷८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिका संयोजक समेत रहनुभएको उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी चौंरीदेउराली गाउँपालिकाको १२ औं गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले आर्थिक वर्ष २०८०÷०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । समृद्धि गाउँपालिका निर्माणको लागि नीति तथा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चौंलागाईंले दावी गरेका छन् ।
भ्रष्टचार, अनियमिततामा शुन्य सहनशिलता अपनाउने नीति तथा कार्यक्रममा उल्लेख छ भने कृषिमा आधुनिकीकरण देखि व्यवसायीकरण गर्नेसम्मको योजना नीति तथा कार्यक्रमम समावेश छ । ‘उत्कृष्ट शैक्षिक गन्तव्यको लागि चौंरीदेउराली’ भन्ने मूल नारा सहित शैक्षिक विकासमा जोड दिएको छ भने युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई ‘विदेश हैन व्यापार” भन्ने भावना जागृत तुल्याई युवा लक्षित कार्यक्रम ल्याइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
चौैरीदेउराली गाउँपालिकाले ‘उत्कृष्ट शैक्षिक गन्तव्यका लागि चौंरीदेउराली’ भन्ने नारा नै तयार गरेर शिक्षालाई जीवनोपयोगी बनाउँदै लैजाने नीति लिएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पनि महत्वका साथ अघि बढाउने उल्लेख छ ।
गाउँपालिकालाई औद्योगिकरण गर्ने, पर्यटन विकासमा जोड, कृषिमा कृषकका पहुँच बढाउने कार्यक्रम, पशुपालक किसानहरुलाई व्यवसायीकरण गर्ने नीति, पूर्वाधार विकासमा ‘आयोजना बैंक’ तयार गर्ने, अध्यक्षसँग गृहिणी महिलालगायतका नीति तथा कार्यक्रमहरु गर्ने बताइएको छ ।
मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम र बजेटमा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ प्रस्तुत गरेको छ ।
नगरप्रमुख टोक बहादुर वाईबाले नगर सभाको १३ औँ अधिवेशन समक्ष नीति तथा कार्यक्रम र उपप्रुमख विष्णुमणी नेपालले बजेट टेबल गर्नुभएको हो । नगरसभामा १ अर्ब ७ करोड ९९ लाख ९८ हजार रुपैयाँ बजेट टेबल गरिएको छ । जसमा १६ करोड सामाजिक सुरक्षा भत्ता सहित हो । सामाजिक सुरक्षा बाहेक कुल विनियोजित बजेटमध्ये ४७ करोड ६५ लाख ५८ हजार अर्थात ५१.८ प्रतिशत र पूँजीगत तर्फ कुल बजेटको ४४ करोड ३८ लाख ३९ हजार ०३३ अर्थात ४८.२० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *