लम्पी स्किन महामारीबाट गाईभैँसीलाई बचाऔं

बनेपा, नेपालभर लगायत काभ्रेमा पनि अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । यसको त्राशदी किसान हरुमा बढेको छ । क्याप्री पक्स भाइरसको संक्रमणबाट बिशेषगरी गाईमा लाग्ने यो रोग २०१२ पश्चात् मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।

२०७७ सालको साउनमा नेपालको मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको छ । किसानका अनुसार यो रोगको संक्रमण भएको लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको पाइएको छ । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुनिने र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्छ । लामखुट्टे, किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् । वर्षातमा बढी देखिने यो रोग रोगी पशुहरूको सिंगान, दूध र घाउबाट निस्केको पीप, रगत जस्ता जैविक रसहरूको प्रत्यक्ष संसर्गबाट सर्न सक्छ ।
यो भाइरल रोग भएकोले यसको कुनै ठोस उपचार छैन । लम्पी स्किन रोग लगाउने भाइरस गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुहरूको उचित तरिकाले गाड्ने वा जलाउने कार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । आफ्नो फर्ममा यो रोग भित्रन नदिन विश्वसनीय स्रोतबाट मात्र गाईभैँसी खरिद गर्नुपर्दछ । यो रोग लागेर गाई हटाएको स्थानमा कम्तिमा २१ दिनसम्म पुनः नयाँ गाई राख्न हुँदैन र नयाँ गाई राख्नुपर्दा पनि कम्तिमा २८ दिन पहिले यो रोग विरुद्धको खोप लगाएको गाईहरू मात्र खरीद गर्नुपर्दछ ।

त्यस्तै किसानले जैविक सुरक्षालाई विशेष ध्यान दिने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा जोड दिने गर्नुपर्ने हुन्छ । यो रोग नियन्त्रण गर्न पशु सेवा विभागले यथाशीघ्र यो रोगको ईपिडेमीयोलोजिकल अध्ययन गरी रोग नियन्त्रण कार्यविधि वा योजना बनाउनु पर्दछ । रोग देखिएको विन्दुबाट अन्य ठाउँमा रोग नफैलियोस् भन्नको निमित्त त्यो ठाउँबाट अन्यत्र गाईको ढुवानी रोक्नुपर्दछ । स्थानीय तह वा प्रदेश स्थित भेटेरीनरी अस्पतालले रोग देखिएको ठाउँबाट २० किलोमिटरसम्मको परिधिलाई संक्रमित क्षेत्र र सो क्षेत्रको बाहिरी २० किलोमिटरसम्मको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी रोग नियन्त्रणका उपायहरू अबलम्बन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *