राष्ट्रिय सभा सदस्य निर्वाचन ११ माघमा हुने भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँगको परामर्शपछ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ माघमै चुनाव हुने बताएका हुन । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिँदै छ ।
राष्ट्रिय सभामा सदस्यको पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यो व्यवस्थाअनुुसार १५ माघभित्र रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्छ । तर, आयोगले अन्य तयारीलाई ध्यानमा राखेर ११ माघमा चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको हो । निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकाले माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले परामर्श दिएको छ,’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी गराएका थिए । कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन । निर्वाचनका लागि आयोगले ०७८ को जनगणनाअनुसार नयाँ मतभार कायम गरिसकेको छ । पछिल्लो मतभारमा एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम भएको छ । यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार थियो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन ।