काठमाडौं, आगामी माघ ११ मा हुने राष्ट्रिय सभाका १९ पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने छन् ।
निर्वाचन आयोगले हिजो आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १४९८ जनाले मतदान गर्ने गर्ने भएका हुन् ।
२०७२ को संविधान जारीपछि पहिलोपल्ट ०७४ माघमा राष्ट्रिय सभा गठन भएको थियो । राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने स्थायी सभा हो । त्यसैले पहिलोपल्ट गठन गर्दा ५९ जना सदस्यमा गोला प्रथाद्वारा एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल तोकिएको थियो । २०७४ सालमा गठन हुँदा गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पुरा भएर फागुनमा २० मा रिक्त हुने एक तिहाइ सदस्यको अहिले निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् । बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् । गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।
त्यस्तै कर्णालीमा ४० प्रदेशसभा सदस्य र १५६ स्थानीय तहका जनप्रतिनिधि गरी १९६ जना र सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका जनप्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचन ऐन २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने हुन्छ । फागुन २० गते रिक्त हुने एक तिहाइ सदस्य मध्ये १९ जना निर्वाचनबाट र एक जना राष्ट्रपतिबाट मनोनयन हुन्छन् । आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख÷उपप्रमुखहरूको मतभार १९ तोकेको छ । यसअघि प्रदेश सभाको ४८ र पालिकाको मतभार १८ थियो । कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई हजारले भाग गर्दा निस्कने अंक नै मतभार हो ।