आजसम्म चल्दै वृहत कृषि महोत्सव


बनेपा, बनेपामा फाल्गुन ४ गतेदेखि शुरु भएको वृहत कृषि महोत्सव–२०८०, जारी रहेको छ । महोत्सवमा अवलोकन कर्ताको उपस्थिति उल्लेख्य रहेको । आजसम्म चल्ने महोत्सव बनेपाको तिनदोबाटदेखि लायकुसम्मको सडक प्रदर्शनी र लायकु परिसरमा सांस्कृतिक कार्यक्रम भैरहेको छ ।
४ गते महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति नै भएको बताउए । मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औल्याउदै राष्ट्रपति पौडेलले गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हँुदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको बताए ।

कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्दै राष्ट्रपति पौडेलले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति पौडेलले अहिलेको सञ्चार र सूचना प्रविधिको युगमा कृषि प्रविधिसम्बन्धी जानकारी, बजारको अवस्था, रोग, किरा, मौसमको जानकारीलगायत आवश्यक प्रविधि प्रचारको लागि यसको उपयोग गरी सम्पूर्ण सूचनाहरू देशभरिका कृषकलाई मोबाईलमार्फत उपलब्ध गराउने व्यवस्थाको खाँचा औल्याउदै विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभे्रका राजेन्द्र थापा, बद्रिप्रसाद ढुंगाना, रुपेश पाख्रिन र सिन्धुपाल्चोकका दिपककुमार लामिछाने, राजकुमार ढकाल र विनोद प्रदानलाई पुरस्कृत गरे ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको अध्यक्षतामा भएको उद्धाटन कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रतिनिधी सभा सदस्य गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका कृषि तथा पशुपन्छी बिकासमन्त्री राजेन्द्रमान श्रेष्ठ, प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठलगायतले महोत्सवले काभ्रेको कृषि क्षेत्रको विकासका लागि योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
महोत्सवमा कृषिका नविनतम प्रविधि तथा वित्तिय साक्षरता सम्वन्धि सेमिनार, सूचना प्रविधिमा आधारित नविनतम प्रविधिहरुको प्रदर्शन, रैथाने बाली एवं प्रविधिहरुको प्रदर्शन, स्थलगत बाली उपचार शिविर तथा पशु स्वास्थ्य शिविर, कृषि बिमा तथा सहुलियत पुर्ण कर्जा प्रवाह सम्वन्धि स्टलहरु, रैथाने परिकार, हस्तकला एवं होमस्टे सम्वन्धि प्रचार प्रसारात्मक स्टलहरु रहेका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको संयोजन र बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक ब्यवस्थापनमा जिल्ला स्थित सबै स्थानीय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *