बनेपा, केहिदिन देखि जारी वर्षाका कारण जनविवन प्रभावित बनेको छ । देशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा डुवान हुने संभावना रहेका कारण सचेत रहन सरकारले आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेकाले नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको हो ।
लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी काभ्रेका दुई सहित देशभर १५ जनाको मृत्यु भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १५ जनाको मृत्यु भएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा २ जना गरी १५ जनाको मृत्यु भैसकेको छ भने यो संख्या अझै बढ्ने ठ छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बस्ने जालमाया रुचालमगर र सेतीमाया रुचालको खोलाले बगाएर मृत्यु भएको छ ।
भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको तथा कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा प्रहरीले गस्ती तथा अनुगमन जारी राखेको छ । अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताए ।
प्राकृतिक बिपत्तिबाट बच्न तपाई हामी उत्तिकै सचेत रहनु आवश्यक छ । पहाडी क्षेत्रमा पहिरो र तराईमा डुवानको बढी समस्या हुुन सक्छ । जुन हामीले गत बर्षहरुमा पनि भोगीरहेका छौ । भै सकेपछि पछुताउनु भन्दा पूर्व सतर्कता अपनाउन सके क्षति कम हुन सक्छ । त्यसैले जोखिमयुक्त क्षेत्रमा घर बस्ती छ भने अन्यत्र सर्ने सार्ने र रोक्ने संभावनाका विकल्प छन भने अपनाउने गरौ । बिपदमा परेकालाई साथ दिउँ र मिलेर सामना गरौं ।