काभ्रेमा बाढीपहिरोबाट दश हजार परिवार प्रभावित

बनेपा, असोज ११ र १२ गते परेको निरन्तरको वर्षा कारण काभ्रेमा ९ हजार ८ सय परिवार प्रभावित भएका छन । यसैविच नेपाल सरकारले काभ्रेका ८ वटा पालिकालाई बाढीपहिरो र डुबानबाट बढी प्रभावित ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।
सरकारले रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौरीदेउराली र महाभारत गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । धुलिखेलमा १ सय, बनेपा १ सय, पनौती १ हजार ५ सय, नमोबुद्धमा ३ सय, मण्डनदेउपुरमा ५ सय, पाँचखालमा १ सय, बेथानचोकमा १ हजार, रोशीमा ६ सय, तेमालमा ३ सय, चौरीदेउरालीमा १ सय, भुम्लुमा १ सय, महाभारतमा १ सय र खानीखोलामा १ सय गरी ४ हजार ९ सय त्रिपाल, ९ हजार ८ सय म्याट र त्यहि संस्ख्यामा ब्लालाङ्गकेट उपलब्ध गराउन गृह मन्त्रालयलाई जिल्ला विपद ब्यवस्थापन समितिले अनुरोध गरेको छ । प्रारम्भिक तथ्यांक अनुसार काभ्रेमा १० हजार घर परिवार प्रभावित भएको अनुमान गरिएको छ ।
जिल्लामा ७७ जनाको निधन भएको छ । सरकारले दिने भनेको मृतक प्रति ब्यक्ति २ लाखका दरले नगद उपलब्ध गराउने काम तिब्र रुपमा भएको छ । पहिलो चरणमा ५५ जनालाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालयको टोली घर घर पुग्न थालेको छ । तर नागरिकहरुको बास न गाँसको अवस्थामा नगद राख्ने स्थान पनि नभएकाले दशैका समयमा चोरी हुने भय छ । किरियाका लागि बासस्थान समेत नभएको अवस्थामा सरकारले उपलब्ध गराएको राहतले थप जोखिम हुने हो कि ? भन्ने आशंका थपिएको छ । पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ जनालाई २ लाखका दरले राहत उपलब्ध गराउन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

विपद्बाट घर, वहाल, आवास नस्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल ब्यवसाय समेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न समेत नभएका वा दुबै अवस्थाका पीडित परिवारलाई प्रति परिवार ५ जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । त्यस्तो अवस्थाका नागरिकहरुको सूची संकलनका लागि स्थानीय तहबाट विवरणहरु संकलन गर्ने कार्य भईरहेको छ ।
पूर्वाधार, खाद्य कृषि तथा पशुपंक्षी, आश्रयस्थल, स्वास्थ्य, शिक्षा, बजार अनुगमन, खानेपानी सरसफाई तथा स्वच्छन्दता, सामाजिक संरक्षण र वातावरण तथा पोषणका लागि सरोकारवाला कार्यालयहरुको संयोजकत्वमा फोकल पर्सन तोकेर काम भै रहेको छ ।
बाढीपहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना बेपत्ता छन् । हालसम्म ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । पनौती नगरपालिकामा आठ महिलासहित १८ जनाले ज्यान गुमाएका छन् । तेमाल गाउँपालिकामा आठ महिला, तीन पुरुष र एक बालक, रोशी गाउँपालिकामा छ महिला, दुई पुरुष, एक बालक र तीन बालिका, बेथानचोकमा आठ पुरुष, तीन महिला र एक बालक, मण्डनदेउपुरमा तीन महिलासहित सात जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *