बडादशै शुरु, बजारमा बढ्यो चहल पहल


बनेपा, बिहिबार घटस्थापना गरे संगै यो वर्षको दशै शुरु भएको छ । यतिबेला बजारमा दशैको किनमेल गर्नेको चहलपल बाक्लै बनेको छ भने घर फर्कनेको चाप पनि बिस्तारै बढ्दै गएको छ । नेपालीहरुको बिशेष चाडको रुपमा मानिने दशै नेपालीहरुको र विषेश गरी हिन्हुहरुको प्रमुख चाडको रूपमा मानिन्छ । आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ ।
प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशतीमा चण्डी पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजया दशमीको दिन महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड मुण्ड तथा शुम्भ निशुम्भलाई बध गरेको खुसियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको पाईन्छ ।
अश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिन देखी नवरात्री आरम्भ हुन्छ । यस दिन घट कलशको स्थापना गरी देवी देबताहरुलाई स्वागत गरिन्छ । यसै दिन चोखो पञ्चमाटो वा बालुवा ल्याई दशै घर अथवा पुजा कोठामा राखी जमरा उमार्न जौ अथवा अन्न छरिन्छ । विजया दशमी मध्यका चार दिनलाई बिशेष दिन को रुपमा लिने गरिन्छ । विजया दशमी को सातौ दिन महा सप्तमी फुलपाती भनिन्छ । यसदिन बेलपत्र, धानकोगाभा, अनार, अदुवाको बोट, उखु, केरा आदी गरेर नौ प्रकार का पल्लबहरुलाई दशै घरमा भित्र्याइने गरिन्छ । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्र्याइने गरिन्छ । नवरात्री को आठौ दिन महाकाली भद्रकालीको बिशेष पुजा गरिन्छ । पुजा पश्चात यि देबीलाई बोका, राँगो, कुखुरा, हाँस, आदी बली दीइन्छ । गाउघरमा मानिसहरु आ आफ्ना कुल देवी देबता र स्थानीयदेवी देबताहरुलाई पनी पुजा बली दिने गर्दछन ।
नवरात्र को नवौ दिन शिद्धीदात्री देवी को पुजा गरिन्छ । यसै दिन बिभिन्न हात हतियार, कलपुर्जा, सवारी साधनहरु आदिलाई पनी बली दीइ विश्वकर्माको पुजा गरिन्छ । नवरात्रमा बिशेष गरी पुजा आजा सहित बलि दिने चलन छ । बलिको अर्थ हो त्याग बलिदिनु अर्थात त्यागी दिनु भन्ने हुन्छ । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् ।
विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । विजया दशमीका दिनः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
र महिलालाई टिका लगाइदिंदा जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते ।
को आर्शिवचन लिएर मान्यजनवाट टीका थाप्न जाने कार्य शुरु हुन्छ र यो क्रम पूर्णिमाको दिनसम्म निरन्तर रहन्छ । दशैको समापन कोजाग्रत पूर्णिमाका दिन हुने गर्दछ ।

यस्तो छ, टीकाको उत्तम साइत
यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ । असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ । असोज २२ गते पचलीभैरव यात्रा र फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ ।
असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल पनि ह्वात्तै बढ्ने गर्दछ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ । यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको छ । सो दिन टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ । असोज ३० गते बुधबार कोजाग्रत पूर्णिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *