विश्व दुग्ध दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूले किसानको भुक्तानीदेखि दुग्ध पदार्थको खपतको विषयमा विभिन्न छलफल गरेका छन् ।
‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने नाराका साथ मनाइएको उक्त कार्यक्रममा दुग्ध क्षेत्रमा विद्यमान समस्या, समाधानका उपाय र भविष्यको बाटोबारे गहिरो छलफल भएको थियो । कार्यक्रममा बाग्मती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध दिवसको महत्वमाथि प्रकाश पार्दै यो दिवस किसानको जीवनस्तर उकास्न, पोषणको पहुँच विस्तार गर्न र अर्थतन्त्र सबल बनाउन योगदान दिने बताए ।
जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष हरि कँडेलले कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै किसानहरू लामो समयदेखि दूधको भुक्तानी पाउन नसकेको पीडा सुनाए । नेपाल डेरी साइन्स एसोसिएसन बाग्मती प्रदेशका संयोजक निरान्जन कोइरालाले दुग्ध क्षेत्रमा वैज्ञानिक प्रणाली र प्रविधिको प्रयोग आवश्यक रहेको बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानको भुक्तानीमा देखिएको समस्या विश्वव्यापी महामारी र पछिल्लो आर्थिक मन्दीको असर भएको बताए ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले किसानले बेचेको दूधको पैसा अझै पाउन नसक्नु दुस्खद भएको बताए । केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डिडिसी जस्तो सरकारी निकायबाटै किसानको भुक्तानी रोकिएको अवस्थामा सरकारको भूमिकामाथि प्रश्न उठाए । राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य कृष्णप्रसाद सापकोटाले सरकारी, निजी तथा सहकारी क्षेत्रको समन्वयमार्फत दुग्ध उपभोगलाई संस्थागत रूपमा बढाउनुपर्ने बताए । बोर्डका अर्का सदस्य सुमित केडियाले दुग्ध उत्पादन र खपत सँगसँगै बढाउनुपर्ने र बजारको माग अनुसार उत्पादन तथा प्रशोधन प्रविधिमा लगानी गर्नुपर्ने बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले पनि दुग्ध दिवसको अवसरमा मन्तव्य दिँदै, धानपछिको सबैभन्दा ठूलो योगदान दिने कृषि उपज दूध भएको उल्लेख गरे । दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले संस्थानले भुक्तानी गर्न नसकेको अवस्था स्वीकार गरे । उनले मौज्दात उत्पादन निर्यातको विकल्पको रूपमा प्रयोग गरेर किसानलाई राहत दिन सकिने सम्भावना औंल्याए । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुँवरले बाँकी भुक्तानी विवरण संकलन गरिसकेको र त्यसको निष्कर्ष सरकारसँग साझा गर्ने तयारी भइरहेको जानकारी दिए । सहकारी विकास बोर्ड बाग्मती प्रदेशका उपाध्यक्ष नारायण देवकोटाले विद्यालय तहदेखि दुग्ध पदार्थको खपत बढाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पशु सेवा विभागका महानिर्देशक रमानन्द तिवारीले दूधको सेवनले मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान दिने बताए । उनले कोल्ड ड्रिङ्क्सको सट्टामा मोही, दूधजस्ता स्वास्थ्यवर्धक वस्तुहरूको प्रवद्र्धन हुनु सकारात्मक भएको बताए । त्यस्तै बाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव वैकुण्ठ अधिकारीले दुग्ध क्षेत्रलाई व्यवस्थित गर्न मन्त्रालयको सक्रिय भूमिका रहने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका छन । मन्त्री अधिकारीले किसानका समस्या समाधानका लागि अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए । उनका अनुसार दुग्ध विकास संस्थान (डिडिसी) मार्फत मात्र झण्डै १ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भने समग्र रूपमा किसानलाई ३ देखि ४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै असार मसान्तसम्म किसानको भुक्तानीका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसरी, हेटौंडामा सम्पन्न विश्व दुग्ध दिवस २०८१ को कार्यक्रममा भाग लिएका सरोकारवालाहरूले दुग्ध क्षेत्रको वर्तमान समस्या, सुधारको खाँचो र भविष्यको सम्भावनाबारे गहिरो छलफल गरेका छन । किसानको भुक्तानीसम्बन्धी पीडा, उत्पादनमा आउने चुनौती र बजार व्यवस्थापनको पक्षले अब नीति निर्माणकर्ताहरूको गम्भीर ध्यान आकर्षित गरिसकेको छ । त्यस्तै कार्यक्रममा दूध किसान, पत्रकारदेखि व्यावसायीलाई सम्मान गरिएको थियो भने अतिथिलाई दुग्धजन्य पदार्थको मायाको चिनो प्रदान गरिएको थियो ।