१९ खर्ब ६४ अर्बको बजेट–काभ्रेमा सुरुङमार्ग र विश्वविद्यालय


बनेपा, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको बताए ।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड उठाइने अनुमान गरिएको छ । बाँकी पाँच खर्ब ९५ अर्ब ६६ करोड बराबर न्यून हुने छ /
त्यसैगरी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दोलालघाटबाट दोलखाको शैलुङ्ग गाउँपालिका–७ को चर्नावतीसम्म सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ । पौडेलले बजेट सार्वजनिक गर्दै काभ्रेपलाञ्चोकको दोलालघाट–चर्नावती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने घोषणा गरेका हुन । बजेट वक्तव्यमा जिल्लामा निर्माण भएको सुरक्षण मुद्रण केन्द्रको पूर्वाधार निर्माण सम्पन्न गरी मुद्रण कार्य प्रारम्भ गरिने उल्लेख छ । यस्तै मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापनको काम अघि बढाउने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै धुलिखेल अस्पताललाई सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *