बनेपा, आज साउन महिनाको अन्तिम सोमबार, काठमाडौंको पशुपतिनाथ, बनेपाको धनेश्वर, भक्तपुरको आशापुरे, डोलेश्वरसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको मेला लाग्ने छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन ।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ । विशेषगरी काठमाडौंको पशुपति, बनेपाको धनेश्वर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्दछ ।
धार्मिक मान्यताअनुसार सोमबार शिवको ध्यान गर्नाले आफूले चिताएको कुरा पुग्छ । अन्य व्रतमा फलाहार गर्न मिल्छ भने शिवको व्रत निराहार बस्नुपर्छ । सोमबारको व्रतमा बिहानको सुर्योदयअघि नै स्नान र सन्ध्यापछि व्रतका संकल्प गर्नुपर्छ । साँझ सुर्यास्त भएपछि करिब एक घन्टा अर्थात दुई घडीसम्म शिवपूजा गरिन्छ । यस्तो व्रत बस्दा धेरै फाइदा हुन्छ । निराहार व्रत बस्नाले अजीर्ण, टाउको दुख्ने, ज्वरो आउने समस्याबाट मुक्ति हुने धर्मग्रन्थहरुमा उल्लेख छ । शिवको पूजा, आराधना एवं ध्यान हिन्दू समाजमा परम्परादेखि चल्दै आएको चलन हो ।