चार पाकेटमार पक्राउ, सबै सचेत बनौं


सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्ष्य गरी पाकेटमारी गर्ने गिरोहका चार जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन ६ गते अपराह्न बनेपा नगरपालिका–८ चाँदनीचोक नजिक पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसमा सवार बेथानचोक गाउँपालिका–६ का ७४ वर्षीय तीर्थबहादुर तामाङको ज्याकेट काटेर नगद २६ हजार रुपैयाँ चोरी गरिएको थियो । घटनापछि प्रहरी सक्रिय भई खोजतलास गर्दा सोही दिन साँझ बनेपा नगरपालिका–८ स्थित तीनदोबाटो क्षेत्रमा काठमाडौंतर्फ जाने अर्को बस चढेर भाग्न खोजिरहेका चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बेथानचोक गाउँपालिका–६ का ३० वर्षीय आकाश भन्ने विनोद आले मगर, ३१ वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, ३० वर्षीय सोनाम लामा तथा मकवानपुर फापरबारी गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण मगर रहेका छन ।
प्रहरीका अनुसार पक्राउ परेका सोनाम लामा जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका कैदीसमेत हुन । उनको संलग्नताले गिरोहको आपराधिक पृष्ठभूमि थप उजागर गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरू यसअघि पनि विभिन्न चोरी, लागूऔषध र अभद्र व्यवहारका घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । विशेष गरी विनोद आले मगरविरुद्ध अभद्र व्यवहार, लागूऔषध तथा चोरीसम्बन्धी गरी सात वटा मुद्दा दर्ता भएको अभिलेख रहेको छ । प्रहरीले यही समूहले गत असार ३० गते नमोबुद्ध नगरपालिका–४ का एक व्यक्तिको पाकेटबाट नगद ९० हजार रुपैयाँ चोरी गरेको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको प्रकृति हेर्दा समूहले सार्वजनिक बसमा वृद्धवृद्धा, एक्लै यात्रा गर्ने तथा भीडभाडमा रहेका यात्रुलाई लक्ष्य बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
प्रहरीले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा नगद, मोबाइल फोन, सुनचाँदीका गहना तथा अन्य बहुमूल्य सामग्री सुरक्षित राख्न आग्रह गरेको छ । झोला अगाडि राख्ने, अत्यधिक नगद बोकेर यात्रा नगर्ने तथा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *