कस्तो होला यसपालिको दसैं ?


नेपालबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनुसनी वायु कमजोर हुँदै गएको छ । यस वर्ष असार ५ गते कोशी प्रदेश हुँदै नेपालमा मनसुन भित्रिएको थियो र अब केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाखशाखाले जनाएको छ ।
मनसुन बाहिरिँदैमा सधैं घाम लाग्छ भन्ने नहुने हुँदा पानी पर्ने सम्भावना जहिले हुने गर्छ । तर यस वर्षको दसैंताका भने पानी पर्ने सम्भावना कम रहेको मौसमविद्हरूको अनुमान छ । यस वर्ष असोज २५गते घटस्थापना (जमरा राख्ने दिन) रहेको छ भने कात्तिक ४ गते विजयादशमी टिका रहेको छ । महाशाखाले ३ दिनदेखि ७ दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । अहिलेको विश्लेषणअनुसार दसैंका बेला नेपालको सबै भूभागबाट मनसुन बाहिरिने सम्भावना बढी रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन । अहिलेको विश्लेषणमा सप्तमी, अष्टमी, नवमी र दशमीका दिन अर्को नयाँ उल्लेख्य प्रणाली आउने देखिँदैन । तथापि हाम्रो तीन दिनको मात्र मौसम पूर्वानुमान र हप्तामा १ पटक सात दिनको पूर्वानुमान जारी गर्ने भएकाले मौसमबारे अपडेट चाहिँ हुनुपर्छ । अहिलेकै अवस्थामा चाहिँ त्यस्तो हिलेदसैं नै होला जस्तो देखिन्न–उनले भने ।
मौसमविद् अधिकारीले गत वर्ष र २ वर्षअघि मनसुन बाहिरिएपछि पनि ठूलो वर्षा भएकोसमेत स्मरण गराए । दसैंका बेला चाडपर्वलक्षित मौसमसम्बन्धी विशेष बुलेटिन जारी हुने पनि उनले बताए । गत वर्ष असोज २४ गते(अक्टोबर १०) का दिन नेपालको सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको थियो । गत साल असोज १६ गते नै दसैंको टीका थियो । पानी परेकाले हिलेदसैंजस्तै भएको थियो । दसैंकै दिन र त्यसपछि पनि केही ठाउँमा भारी वर्षासमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *