कांग्रेस महाधिवेशन जारी, भोलिसम्म बन्दसत्र, पर्सी निर्वाचन

बनेपा, नेपाली कांग्रेसको १५औँ महाधिवेशन हिजोदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रहेको छ । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरेका थिए ।
महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति देउवालाई लिन उनको ढोकामा पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाए । ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । तर आउनुभएन । कति पटक जाने हो, लिन कसरी जाने हो ?,’ थापाले भने । थापाले बिपी कोइराला र गणेशमान सिंहको सिद्धान्तमा पार्टी अगाडि बढाइरहेको बताए । कांग्रेस सभापति थापाले पार्टीको १५ औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बिपी र गणेशमानले स्थापना गरेको राजनीतिक मूल्यलाई निरन्तरता दिइरहेको बताए । ’हाम्रोआत्मा त्यै हो । बिपी कोइरालाको हो, गणेशमानको हो । बिपी कोइरालाको छोरा कहाँ हुनुहुन्छ, गणेशमानको छोरा कहाँ हुनुहुनुहुन्छ, मलाई थाहा छैन तर आत्मा यहाँ छ । आत्मा त्यै हो,’ थापाले भने ।
पार्टीमा अब काम गर्ने शैली परिवर्तन हुने थापाले बताए । उनले भने, ’हाम्रो शैली, भाषा, कर्म, सोच्ने तरिका, संस्कार, संस्कृति बदल्नुपर्नेछ ।’ उद्घाटन सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले बोलेका थिए ।
महाधिवेशन तालिकाअनुसार हिजो उद्घाटन सत्र, असोज १९ आज र २० गते भोली बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ । देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन हिजोदेखि भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी छन । कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *