काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कसैले चाहेरपनि लोकतन्त्रको जग हल्लाउन नसक्ने बताउनुभएको छ ।
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा हिजो आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले लोकतन्त्र जोगाउन नागरिकले जस्तो सुकै त्याग र बलिदान गर्ने बताउनुभयो ।
यात्राको माध्यमबाट नेकपा एमालेले राष्ट्रिय एकता जगाउने र लोकतन्त्रलाई थप सुदृढ गराउने काम गरेको ओलीले बताउनुभयो । जनताको बिचमा जाने र जनताको कुरा सुन्ने हिसाबले पनि यात्रा महत्त्वपूर्ण रहेको ओलीले बताउनुभयो । जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हिस्सा ओगटेको मध्य पहाडमा अहिलेकै अवस्था रहने हो भने देश समस्यामा पर्छ भन्ने सोचका साथ त्यहाँका नागरिकमा आशा जगाउन यात्रा गरिएको ओलीले बताउनुभयो ।
ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताउदै मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो–’ मध्यपहाडमा सम्भावना धेरै छ, तर सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने, युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।’
युवाहरुको संख्या अलि कमै देखिएको उहाँले बताउनुभयो । मानिसहरुमा आशाबादिता रहेको अध्यक्ष ओलीले बताउनुभयो । यात्राका क्रममा आफूहरूले जनतामा आशा जगाउने काम गरेको पनि उहाँले बताउनुभयो । आम जनताको साथ सहयोगले यात्रा निक्कै सफल भएको ओलीले बताउनुभयो ।
वर्तमान गठबन्धन सरकारको कारण देश गलत बाटोमा गइरहेको बताउदै ओलीले देशमा धेरै समस्या भएका भर्खरै एनसीएलको स्वामित्व किनबेचको विषय निक्कै गम्भीर विषय भएको उहाँको भनाई छ । खरबौँको सम्पत्ति करोडमा कारोबार गर्ने कुरालाई कुनै पनि हालतमा सही स्विकार्न नसकिने ओलीले बताउनुभयो ।
कतिपय ठाउँमा सरकारी दमन देखिएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो – ’सरकारी दमन पनि चर्काेगरीनै रहेछ, सरकारी पक्षपात भेदभाव र दमन, विपक्षी पार्टी भनेपछि काम गरेर पनि बाँच्न नसक्ने खालको स्थिति रहेछ कतिपय ठाउँमा, राज्यसत्ताको दुरुपयोग गरेको देखियो, हुन त काठमाडौंमै प्रोफेसरको ढाड भाचिन्छ, सरकारले मुद्दा फिर्ता लिन्छ, अरु अपराधी तत्वका मुद्दा फिर्ता लिन्छ, काठमाडौंमा प्रबुद्ध समाजको अगाडि त यस्तो हुन्छ भने झन् दूरराजको स्थिति कस्तो होला ?’
जनताका मागपत्रहरुबारे अध्ययन भइरहेको भन्दै उहाँले त्यसपछि तत् सम्बन्धमा आवश्यक कारबाही अगाडि बढाइने समेत बताउनुभयो ।