बनेपा – काभ्रेमा कोरोना भाईरस कोभिड १९ संक्रमण हुन नदिन तथा नियन्त्रणको लागि ९ वटा योजना बनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले ९ वटा निर्णय गर्दै संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि विशेष ध्यान दिन सर्वसाधारणलाई अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र कुनै प्रकारका गोष्ठी, सेमिनार, सम्मेलन, भिडभाड लगायत मानिसहरु जम्मा नहुने सरकारको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्ने, संक्रमणबाट बच्च अत्यावश्यक काम बाहेक आवागमन नगर्न जिल्लाबासीहरुलाई अनुरोध गरेको छ । अत्यावश्यक ग्यास, खाद्य सामाग्री, औषधीहरुको कृत्रिम अभाव हुन नदिन नियमित बजार अनुगमन गरी आपुर्ति ब्यवस्थालाई सहज बनाउन सबै निकायलाई पहल गर्न अनुरोध गरेको छ ।
जिल्ला स्थित सबै सरकारी कार्यालयहरुमा सुरक्षा सतर्कताका लागि कर्मचारी सहित सेवाग्राहिलाई कार्यालय परिसर प्रवेश गर्दा साबुन पानीले हात धोई सेनिटाईजर प्रयोग गरेर मात्रै प्रवेश गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।
जिल्ला स्थित सबै स्वास्थ्य संस्थाहरुको समन्वयमा स्वास्थ्य कार्यालयले कोभिड १९ सम्वन्धी क्युआरटी तयारी अवस्थामा राख्न, जिल्ला स्थित सम्पूर्ण स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक काम बाहेक विदा नछोड्ने, १३ वटै स्थानीय तहहरुले क्वारेन्टाईन र खुल्ला क्षेत्र अविलम्ब तोक्ने, सार्वजनिक यातायातका सवारी साधनहरुमा सिट क्षमता भन्दा बढी यात्रुहरु ओसार पसार गर्न नदिने ब्यवस्था तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । सार्थ बैठकले सम्पूर्ण सरकारी कार्यालयका सवारी साधन सवारी चालक सहित जुनसुकै समयमा उपलब्ध हुन सक्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।