बनेपा, जिल्ला प्रशासन कार्यालय काभ्रेले गत हप्ता गरेको निषेधाज्ञालाई एक साता थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले हिजो राती १२ बजेदेखि लागु हुने गरी जेठ २ गते राती १२ बजेसम्म लागु हुने गरी एक साता निषेधाज्ञा थप गरेको हो ।
प्रशासन कार्यालयले यसअघि बैशाख १९ गते रातीदेखि लागु हुने गरी काभ्रेमा निषेधाज्ञा जारी गरेको थियो । कार्यालयले अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सदरमुकाम, पाँचखाल बजारक्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ ५ सय मीटर क्षेत्र, बनेपा तीनदोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँ बायाँ ५ सय मीटर दुरीभित्र निषेधाज्ञा लगाएको थियो ।


यसैगरी बनेपा–पनौती–खोपासी सडकको दायाँ बायाँ ५ सय मिटर, बिपी राजमार्गको धुलिखेलचोक, काभ्रेभन्ज्याङ–भकुण्डेवेंशी हुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ २ सय मिटर र पाँचखाल जिरो किलो–हेलम्बु राजमार्गको कुन्तावेंशी सडकको सिपाघाटसम्म दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । त्यसैगरी नाला करुणामय मन्दिरदेखि भक्तपुर सडकको भञ्ज्याङसम्म दायाँबाँँया दुई सय मिटर क्षेत्र र पनौती–बाँस्डोल–भैँसेपाटी सडकको दायाँबाँया दुई सय मिटर क्षेत्र, बनेपा, चण्डेश्वरी, रविओपी, पाँचखाल सडक खण्डको दायाँबाँया दुई सय मिटर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, बिद्यालय, सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने, जिल्लाभित्र विकास निर्माणको काममा प्रयोग ह्ुने निर्माण सामग्री ढुवानी साधन बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्नेछ । विवाह तथा ब्रतबन्ध कार्यक्रममा दुलाहा, दुलहीसहित बढीमा १५ जना मात्रै हुनुपर्ने, विवाह, ब्रतबन्ध कुनै अर्को स्थानमा जानुपर्ने भएमा वा फर्कनु पर्ने भएमा दुई वटा सवारी साधनमा बढीमा १५ जना सम्मको लागि स्थानीय तहसँग सिफारिस लिइ जान सकिने व्यवस्था मिलाइएको छ । निषेधित क्षेत्रसम्बन्घि विवरण हेर्नुस चित्रमा ।
यसैबिच पछिल्लो विवरणमा काभ्रेमा सङ्क्रमित दर घटेको छ । शनिवार १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो २४ जना संक्रमणमुक्त भएका थिए । हिजो भने ४० जनामात्र नयाँ सङ्क्रमित थपिएका छन । १२ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार सङ्क्रमित ५ जनाको मृत्यु भएको छ । प्रमुख डा. झाका अनुसार हिजो बनेपा नगरपालिकामा १५ महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा ४ महिला ५ पुरुष, पनौती नगरपालिकामा १ महिला ३ पुरुष, पाँचखाल नगरपालिकामा १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला, नमोबुद्ध नगरपालिकामा १ महिला र १ पुरुष सङ्क्रमित थपिएका छन् ।
यससँगै काभ्रेमा सङ्क्रमित सङ्ख्या ४६३९ पुगेको छ । सक्रिय सङ्क्रमित सङ्ख्या ४९८ महिला र ६०१ पुरुष गरी १०९९ पुगेको छ । अस्पताल आइसोलेसनमा ४६ जना र होम आइसोलेसनमा १०५३ जना रहेका छन् ।
काभ्रेमा मृत्यु हुनेहरूको सङ्ख्या ९० पुगेको छ । उनीहरू मध्ये ६३ जना काभ्रेका रहेका छन् भने २७ जना अन्य जिल्लाका रहेका छन् ।