उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, मतपेटिका भण्डार र मतगणना स्थलमा सीसीटीभी


बनेपा, आगामी स्थानीय तहको निर्वाचनका लागि २०७९ वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो ।
उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले देशभर मतपेटिका भण्डारण र मतगणना स्थलको अनुगमन गर्ने भएको छ । त्यसका लागि आयोगले सबै स्थानीय तहमा मतपेटिका भण्डार र मतगणनास्थलमा सीसीटीभी जडान गर्न र त्यसको भिजुअल रेकर्ड राख्न उपकरणहरुको बन्दोबस्त गर्न परिपत्र गरेको छ ।
मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने उद्देश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणालीको प्रयोग गर्न आयोगबाट निर्णय भएको आयोगले १ चैत २०७८ मा गरिएको निर्णयको परिपत्रमा भनिएको छ, ‘उक्त प्रणाली सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न निर्णय गरेकोले सो अनुसार आवश्यक ब्यवस्था मिलाउन निर्णयानुसार अनुरोध छ ।’
पाँच वर्षअघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका यो ब्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *