
बनेपा,उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै नेपाल आयल निगमले उपत्यकामा २४ घण्टा खुल्ने गरी नमूना पेट्रोल पम्प चलाउने योजना ल्याएको छ ।
आयल निगमका सञ्चालक समितिका अध्यक्ष तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयल निगमले उपत्यकामा हरेक समय सेवा दिने गरी पट्रोल पम्प सञ्चालन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । उनले निगमको साधारणसभामा यसबारे जानकारी गराए ।
यो सँगै प्रत्यक प्रदशेमा निगमकै स्वामित्वमा एक÷एक वटा नमूना पेट्रोल पम्प सञ्चालनको योजना पनि निगमले बनाएको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए ।
यसअघि पनि परम्परागत पम्पलाई विस्थापन गर्न भन्दै नेपाल आयल निगमले नमूना पेट्रोल पम्पको अवधारणा ल्याएको थियो । उक्त अवधारणा अनुरुप निगमले दुई पटकसम्म व्यवसायीबाट आवेदन माग गरेपनि अपेक्षित रुपमा आवेदन प्राप्त गर्न सकेको छैन भने निर्माणका लागि पनि अत्यन्तै कम व्यवसायीले मात्र स्वीकृति लिएका छन् । आयल निगमका अनुसार दुई पटक गरेर माग गरिएको आवेदनमा ९५ व्यवसायीले आवेदन बुझाएका थिए ।
निगमका अनुसार नमूना पम्प अत्याधुनिक सुविधासम्पन्न हुनेछन् । यस्तो पम्प हालसम्म नेपालमा छैन । नमूना पेट्रोल पम्प अत्याधुनिका सुविधा सम्पन्न हुनेछन् । नमूना पम्प विक्रीस्थलको जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेस जिल्ला उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, दाङ र सुर्खेतको पहाडी क्षेत्रबाहेकमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्नेछ । राजमार्ग वा अन्य सडकबाट करीव ५ सय मिटरभित्रको जग्गामा नमूना पम्पको विक्रीस्थल निर्माण गर्न पाइनेछ । उक्त बिक्रीस्थलसम्म जाने सडक १० मिटर फराकिलो हुनुपर्ने छ ।
निगमले तयार गरेको मापदण्डमा पम्पले एकैपटकमा ८ वटा सवारीमा तेल भर्न मिल्ने गरी व्यवस्था गर्नुपर्नेछ । एकपटकमा कम्तीमा ४ वटा पेट्रोल नोजल र ४ वटा डिजेल नोजलबाट रिफिलिङ गर्नेगरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय वर्गमिटरको पार्किङ क्षेत्रको व्यवस्था हुनुपर्नेछ । पम्पमा इलेक्ट्रोनिक्स कार्डबाट समेत खरीद गर्न मिल्ने व्यवथा हुनुपर्नेछ भने विक्रीस्थलमा भेन्डिङ मेसिन र किराना पसलको व्यवस्था समेत हुनुपर्नेछ । नमूना पम्पले चुस्त सुरक्षा व्यवस्थासहित २४ सै घण्टा सेवा प्रदान गर्नुपर्ने हुन्छ ।