मण्डनदेउपुरका किसानले पाए कृषियन्त्र, कृषिमा आधुनिकीकरण आवश्यक छ–बाँस्कोटा

मणिराम दाहाल, बनेपा
मण्डनदेउपुर नगरपालिका–१०, आँपघारीका किसानहरुलाई सहुलियतमा कृषियन्त्र हस्तान्तरण गरिएको छ । चण्डेनीमण्डन सानाकिसान सहकारी संस्था लिमिटेडको पहल र प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा किसानहरुलाई मिनि टिलर ट्याक्टर, मकै पिँध्ने मेसिन, मकै छोडाउने मेसिन र स्प्रेयर पम्प लगायतका कृषियन्त्रहरु प्रदान गरिएको हो ।

पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटा र नगर उपप्रमुख निर्मला शाहीलगायतले शनिबार आँपघारीमा आयोजित एक कार्यक्रमकाबीच किसानलाई ती कृषि सामग्री हस्तान्तरण गरेका हुन् । किसानहरुलाई प्रविधिमैत्री बनाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले किसानहरुलाई आर्थिक अनुदान तथा कृषियन्त्रहरु हस्तान्तरण गरिएको साना किसान सहकारी संस्थाका अध्यक्ष सुमन नेपालले जानकारी दिए ।

वितरण गरिएका मध्ये १२ किसानलाई मिनि टिलर ट्याक्टर, चार जना किसानलाई मकै पिँध्ने मेसिन, पाँच किसानलाई मकै छोडाउने मेसिन र नौ जना किसानलाई इलेक्ट्रिक स्प्रेयरपम्प रहेको छ । कार्यक्रममा आलु खेतीका लागि ४४जना किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत र मण्डनदेउपुर नगरपालिकाको २५ प्रतिशत अनुदान रकमसमेत हस्तान्तरण गरिएको थियो ।

अध्यक्ष नेपालका अनुसार सो परियोजनामार्फत चार जना किसानलाई पिभिएस आलुको बीउका लागि ३ लाख ४२ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराइएको छ । उनले संस्था स्थापना भएको चार वर्षको अवधिमा किसानहरुलाई प्रविधिमैत्री, कृषिमा आधुनिकीकरण गर्नका लागि विभिन्न कार्यक्रमहरु अघि सारिएको बताए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री बाँस्कोटाले किसानहरुको आर्थिक समृद्धि नभई देशको विकास असम्भव भएको भन्दै एमाले नेतृत्वको सरकारले किसानमैत्री थुप्रै कार्यक्रमहरु अघि बढाएको बताए । कृषिमा आधुनिकीकरणले कृषकको उत्पादनमा बृद्धि हुँदै गएकाले कृषिमा पूँजी, बजार, श्रम र आधुनिकीकरणमा प्रबद्र्धनको आवश्यकता रहेको बताए । उनले भने “कृषियन्त्रले श्रमशक्तिलाई बचाउँछ, बचेको श्रम अन्य उत्पादनमा लगाउँदा कृषकको आर्थिक अवस्था सुधारोन्मुख हुँदै जाने छ । “विकास पार्टीको निम्ति नभई नितान्त जनताको जीवनस्तर सुधारका लागि हुन्छ, विकास र राजनीतिक प्रतिस्पर्धा नितान्त फरक विषय हो” पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले बताए । उनले सरकारसँग विकासका कुनैपनि बजेट नकाट्न आग्रह गर्दै अघिल्लो सरकारले निरन्तरता दिएका हरेक विकास आयोजनाको बजेट नकाट्न आग्रह गरे ।

कृषकलाई कृषि औजार एवं उपकरण वितरण गर्दै नगर उप प्रमुख निर्मला शाहीले कृषि क्षेत्रलाई नगरपालिकाले विशेष प्राथमिकतामा राख्दै कृषिसम्बन्धी कार्यक्रमहरू अघि बढाउदै आएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *