बनेपा, आज गाईजात्रा पर्व देशका बिभिन्न क्षेत्रमा व्यङ्ग्यात्मक कार्य गरेर मनाईदै छ । बिशेष गरी नेवारी समुदाय भएको स्थानमा यो पर्व महत्वका साथ मनाउने गरिन्छ ।
सरकारले यो वर्षदेखि गाईजात्राको दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उक्त दिन उपत्यकामा सार्वजनिक बिदासँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बागमती प्रदेशमा भने प्रदेश भर बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
त्यस्तै, आगामि भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारले जनाएको छ ।
व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्ग्यात्मक रुपबाट समाजसम्म दर्शाउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रा हो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रुपमा व्यङ्ग्यात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउने कलात्मक र दृष्टात्मक अभिव्यक्ति अर्थात् गाईजात्रा । विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरमा मनाईने यो पर्व काभ्रेका पनि बनेपा, धुलिखेल लगायतका क्षेत्रमा विभिन्न भेषमा मनाइने गरिन्छ ।
भाद्र कृष्ण प्रतिपदाका दिन विशेष गरी मनाइने यो जात्राको बारेमा बौद्धिक, तान्त्रिक ग्रन्थ ‘कालव्यूह’ का अनुसार यस दिन गौ पूरा गरी गहूँको रोटी र नून गाईगोरुलाई खान दियो भने मोक्ष प्राप्ति हुने र सबै पाप कर्महरु नाश भई हजारौं जोगीहरुलाई भोजन गराएको सरह फल प्राप्त हुने जनाइए पनि आजतक यो पर्वमा समयको परिवर्तनसँगै अनेकौं आयामहरु थपिँदै गएको पाइन्छ ।
अन्तत्वगत्वा यस पर्वलाई पितृ मोक्षको रुपमा समेत स्थापित गराईयो । प्रत्यक्ष रुपमा गाई गोरु समावेश गराईने यो पर्वमा अहिले बैकल्पिक रुपमा मानिसहरुद्वारा नै गाईको मुकुण्डो लगाई पशुको प्रतिनिधित्व गर्ने चलन रह्यो । हरेक साल भाद्र कृष्ण प्रतिपदाको दिनदेखि आठ दिनसिम्म गाईजात्रा पर्व नेपालभर मनाइन्छ । काठमाडौं उपत्यकामा भने सबैन्दा भव्य रुपमा मनाइन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि प्रारम्भ भई कृष्णअष्टमीको दिन अन्त्य हुने पर्व उपत्यकावासीको साँस्कृतिक पर्व पनि हो ।
गाईजात्राको इतिहास
भक्तपुरका तत्कालीन राजा प्रताप मल्लको एउटा बालक छोरा उपत्यकामा फैलिएको महामारी रोग विफरबाट मृत्यु भएको थियो । छोराको निधनले रानी साह्रै शोकाकुल भइन् । आफ्नो छोरा मात्र नमरेको अरुका पनि मरेका छन् भनी राजाले सम्झाउँदा पनि रानीले अलापविलाप गर्न छाडिनन् ।
त्यसपछि देशभरका जनतालाई आआफ्नो नाममा उनीहरुका आफन्तलाई गाईजात्रा निकाली भक्तपुर दरबार प्राङ्गणमा भेला हुँदै शहरपरिक्रमा गराउने आज्ञा दिए । ठाउँ ठाउँमा गाईजात्राका दृश्य देखेपछि जनताका पनि धेरै छोराछोरी मरेका रहेछन् आफ्नो मात्र मरेको होइन रहेछन् भनेर रानीले चित्त बुझाएपछि त्यस बेलादेखि यो परम्परा चलेको भनिन्छ ।