काभ्रेमा डेरी तालिम केन्द्र स्थापना गर्न सहयोग गर्छु-डा.यादव

बनेपा, राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन, ललितपुर, नेपालले काभ्रेका अगुवा कृषकका लागि ३ दिने दुधालु गाई, भैंसीको आहारा एवं व्यवस्थापन तालिम दिएको छ ।
माघ ८ गतेदेखि १० गतेसम्म बनेपामा सञ्चालित तालिममा काभ्रे जिल्लाका विभिन्न पालिकाका दुई दर्जनभन्दा बढी कृषकहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादव, प्राविधिक निर्देशक बालक चौधरीलगाएतले तालिम दिनु भएको थियो ।
सोमबार तालिमको समापन गर्दै कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले राष्ट्रिय दुग्ध विकास बोर्ड जहिल्यै कृषकको पक्षमा रहेको भन्दै पशुपालक कृषकलाई आवश्यक तालिमहरु देशव्यापीरुपमा सञ्चालन गर्दै आईरहेको बताउनु भयो । उहाँले काभ्रे डेरी स्थापनाको पहिलो जिल्ला भएको भन्दै स्थानिय सरकारले जग्गा उपलब्ध गराएमा राष्ट्रिय स्तरको तालिम केन्द्र काभ्रेमा स्थापना गराउन आफुले पहल गर्ने र त्यसको डिपिआर यसै वर्ष गराउने बताउनु भयो ।
कार्यक्रममा नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रल्हाद दाहालले काभ्रे जिल्ला दुग्ध उत्पादनका हिसावले अग्रणी जिल्ला रहेको र डेरी स्थापनाको पहिलो जिल्ला रहेकोले काभ्रेमा राष्ट्रिय स्तरको तालिम केन्द्रको स्थापनाको लागि आग्रह गर्नुभएको थियो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको अध्यक्षता र नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव प्रल्हाद दाहाल, पत्रकार महासंघ काभ्रेका सल्लाहकार नवराज बजगाई, बोर्डका प्राविधिक निर्देशक बालक चौधरीलगाएतले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *