सहकारीलाई सफल र घनिभूत ढंगले सञ्चालन गर्न सहकारीमा संलग्न सञ्चालक वा सदस्यहरुलाई तालिम दिईनुपर्दछ । हरेक सदस्यले म को हँु ? मेरो क्षमता कुन क्षेत्रमा कति छ ? भनेर आफ्नै क्षमता पहिचान नगरिकन विल्कुलैनजानेको काममा हात हाल्दा निश्चय पनि परिणाम राम्रो आउँदैन ।हुनत सबै जना एकै विषयका ज्ञाता हुदैनन् ।सबैले जान्ने भनेको पढेर, अनुभव गरेर र सिकेर मात्रै हो । हरेकले एउटै विषय जान्दछन् र सिक्छन पनि भन्न सकिदैन । सबैले आआफ्नो रुचि अनुसार जान्ने वा सिक्ने गर्दछन् । व्यक्ति नै पिच्छे सिक्ने र जान्ने वा बुझ्ने क्षमता फरकफरक हुने गर्दछ ।फेरी कतिपयको बानी के पनि हुन्छ भने सहभागी हुन कहिल्यै नछोड्ने तर जान्न पनि कहिल्यै नखोज्ने । त्यस्ता सदस्यहरु हरेक कार्यक्रममा भेटिन्छन् । उनिहरुको काम भनेको उपस्थितिमा संख्या बढाउने मात्र हो, थप उपलब्धि केही लिन सकिदैन र दिन पनि सक्दैनन् । यस्ता प्रकारका सदस्यहरुलाई बेलैमा पहिचान गरेर सोही अनुसारको उचित जिम्मेवारी दिनु राम्रो हुन्छ । आफ्ना सदस्यहरुको क्षमता पहिचान गरी विभिन्न उपसमितिको संयोजक÷सदस्य वा अन्य विभागिय जिम्मेवारी दिनुपर्दछ ।
जब सदस्यहरुलाई कामको जिम्मेवारी दिईन्छ त्यसपछि निरन्तर अनुगमन जरुरी हुन्छ ।दिईएको कामको निरन्तर अनुगमनले काममा थप उत्साह पैदा हुने हुँदादिईएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्न सहयोग पुग्दछ ।काम सम्पादन हुँदै गर्दा वा काम निरन्तर चलिरहेको अवस्थामा दिईएको कामलाई लिएर अनावश्यक कुराहरु गर्नु राम्रो हुदैन । तर सहयोग मागेको अवस्थामा भने तत्कालै सहयोग गर्नु राम्रो हुन्छ । मान्छेको रुप, रंग, लवाई÷खवाई र बोलाईले पनि सामान्य क्षमताको पहिचान गर्न सकिन्छ ।काम सहजढंगबाट सम्पन्न गर्न प्रेरणा सहित उर्जा थप्ने गरी उत्साहित ढंगबाट प्रोत्साहित गर्नु पर्दछ । जसले गर्दा जिम्मेवारी लिएको व्यक्तिलाई उत्साहित हुँदै कामगर्न प्रेरणा पुगोस ।जव व्यक्तिको क्षमता पहिचान गरेर कामको जिम्मेवारी दिईन्छ त्यसपछि उसको कार्य कौशलताको परिक्षण शुरु हुन्छ ।
प्रायजसोे सहकारीको समस्या भनेको दक्ष र काममा ईच्छाशक्ति भएका कर्मचारीहरु पहिचान गरेर राख्न नसक्नुनै हो । जहाँ दक्ष कर्मचारी राखिएको हुन्छ त्यहाँ कामको सम्पादन उचित ढंगले हुन्छ । त्यसो भन्दैमा सहकारीका सबै कर्मचारी अदक्ष्य छन् भन्न खोजिएको कदापी हैन । जानेर जन्मीएको कोही पनि छैन । सबैले जन्मिए पछि सिकेर जान्ने भएका हुन । हरेक संस्थाले आफ्ना सदस्य वा कर्मचारीलाई जान्ने र सिक्ने मौका पर्याप्त मात्रामा दिनु पर्दछ । पूर्ण ज्ञान नभएका कर्मचारीलाई तालिम तथा अन्य सिकाईका अबसरहरु पर्याप्त मात्रामा दिन सकियो भने संस्थागत प्रगति हुनेछ । जसले क्षमता अभिवृद्धि गर्दै जान्छ उसैले राम्रोसंग कार्यसम्पादन गर्न सक्दछ । कर्मचारीलाई कामको जिम्मेवारी थपिदिदै जाने तर समय सापेक्ष सिप वा तालिम दिएर सक्षम वा दक्ष बनाउँन सकिएन भने उपलब्धि हासिल गर्न सकिदैन ।
शिक्षा वा ज्ञान विनाको व्यक्ति अन्धो हुन्छ भनेर त हाम्रो धर्म शास्त्रले पनि भनेको छ ।शिक्षा भएको व्यक्तिलाई सबै ठाँउमा पूजा गरिन्छ । विद्या र ज्ञान भएको व्यक्ति संसारकै धनि व्यक्ति हो । त्यसैले त ज्ञान र सिप भएको व्यक्तिलाई सबैले मान्दछन् ।विषयगत ज्ञान भएको व्यक्ति र नभएको व्यक्तिको गुणमा धेरै फरक पाउँन सकिन्छ ।काम लगाउन र अह्राउन चै सबैले जान्दछन् । तर त्यही काम आफैले भने गर्न जान्दैनन् । काम जानेकोले र नजानेकोले अह्राउदा र सिकाउँदाको परिणाम कस्तो आउला ?निश्चय पनि फरक आउँछ । संस्थालाई सहि ढंगले संचलन गर्न काम गर्ने र गराउँने दुवैको क्षमता अब्बल हुनु जरुरी छ । अक्षमलाई कामको बोझ दिंदा परिणाम राम्रो पाउँन कठिन हुन्छ । यदि अक्षमलाईगहन प्रकारको जिम्मेवारी दिईयो भने त्यस्तो सदस्यहरुबाट संस्थाले प्रगतिको के अपेक्षा राख्न सक्ला ? माथी उल्लेख गरे जस्तै संस्थाका हरेक सदस्य र कर्मचारीलाई सहकारीको न्युनतम भन्दा न्युनतम ज्ञान(सहकारी शिक्षा) दिनु अनिवार्य छ ।
सहकारी संचालन गर्ने संचालकहरुलाई सहकारीको न्यूनतम भन्दा न्यूनतम ज्ञान आवश्यक पर्दछ । सहकारीको आधारभूत ज्ञान नभैकन सहकारी संचालन गर्न कठिन हुन्छ । समय समयमा नेपाल सरकारले जारी गर्ने सहकारीको कानून, ऐन, नीति, विधि र निर्देशन पालना गर्नु र सहकारीलाई सोहि अनुसार संचालन गर्न पनि कानूनको बारेमा जानकार व्यक्ति आवश्यक पर्दछ । सरकारले बेलाबेलामा जारी गर्ने सहकारी कानूनहरुलाई पालना गर्न पनि सहकारी बुझेको व्यक्ति आवश्यक पर्दछ । त्यसो भन्दैमा सहकारीमा लाग्न वकिलनै बन्नुपर्छ भन्ने पनि हैन तर कानून बुझेको साक्षर व्यक्ति चै हुनु आवश्यक पर्दछ । यहि कानूनी प्रकृया बुझ्न नसक्दा वा थाहा नपाउँदा धेरै सहकारी र व्यक्तिको रकम जोखिममा परेको समाचारहरु आउने गरेका छन् । कतै चर्काे व्याजको लोभमा साँवा नै डुब्छ भने कतै छिट्टै संस्थालाई राम्रो नाफा आउने लोभमा लगानीनै डुब्छ । यसरी सहकारी संस्थामा कहिले पूँजी थुप्रिएर बस्ने त कहिले नियमित बचतको बचत फिर्ता गर्न पनि नपुगेर तनाव खेप्नु पर्ने पनि हुन्छ । यस्तो समस्या आउन नदिन र नियमानुसारको लगानी र पूँजी अनुसारको तरलता व्यबस्थापन गर्न पनि कम्तीमा वित्तिय साक्षरता बुझेको संचालक र कर्मचारी हुनु नितान्त आवश्यक छ ।