घरदैलो मतदाता शिक्षा बिनै मतदान गराउदै आयोग


बनेपा, निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । मतदाता शिक्षाको क्रममा मतदाताहरुलाई बदर नहुने गरी मतदान कसरी गर्ने भन्ने कुरा सिकाइन्छ । त्यसका लागि नमूना मतपत्र प्रकाशित गरी आयोगले स्वयंसेवकहरु परिचालन गरी भोट हाल्ने तरिका सिकाउँथ्यो ।
अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको हो । यो काममा आयोगले लाखौं बजेट खर्च गरे पनि मत बदर हुन नरोकिएको र मतदाता शिक्षाका लागि खटिएका स्वयंसेवकहरु निष्पक्ष नभएको गुनासो आउने गरेको थियो ।

मतदाता शिक्षाका लागि खटाइएकाहरु कुनै न कुनै राजनीतिक दल वा उम्मेदवारसँग निकट हुने र उनीहरुले मतदातालाई प्रभाव पार्न सक्ने भएकाले पनि यस वर्ष घरदैलो अभियान नगर्ने निष्कर्षमा आयोग पुगेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने बताए । बरु मतदान स्थलमै सूचना केन्द्र स्थापना गर्ने दुई दिन भोट हाल्ने तरिका सिकाइने छ । आयोगका कर्मचारीहरुको प्रत्यक्ष निगरानीमा मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाउने गरी संक्षिप्त कार्यक्रम गरिने छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मतदाता शिक्षाका लागि करिब ८० करोड बजेट छुट्याएको आयोगले यस वर्ष उक्त शीर्षकको बजेट आधा भन्दा बढीले कटौती गरेको छ । घरदैलो अभियान सन्चालन नगरे पनि सूचना प्रविधिलाई उपयोग गरेर भोट मतदाता शिक्षा दिइने आयोगले जनाएको छ । आयोगले मतदाता शिक्षाका लागि सञ्चार माध्यम र सामाजिक सन्जालको अधिकतम प्रयोग गर्ने नीति लिएको छ । धेरैभन्दा धेरै अडियो, भिडिओ सामग्रीहरु उत्पादन गरेर स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन पोर्टल र सामाजिक सन्जालमार्फत् प्रकाशन प्रसारण गर्ने आयोगको नीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *